केही ठाउँमा आज र भोलि पानी पर्ने भए पनि आत्तिहाल्नु पर्दैन : मौसमविद
काठमाडौं । कोशी प्रदेशका विभिन्न ठाउँमा गएरातिदेखि नै पानी परेको छ । झापा, मोरङ, उदयपुर, सुनसरीका केही ठाउँमा ठूलो वर्षा भएको छ । आज र भोलि कोशी प्रदेशसँगै बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा पनि पानी हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि छ । तर गएको शुक्रवार र शनिवार जस्तै गरेर बर्षा हुने सम्भावना भने छैन । त्यसैले आत्तिहाल्नुपर्ने अवस्था नभएको मौसमविद गोविन्द झाले बताए । उनले ठूलो वर्षा भए पनि क्षणिक मात्र हुने बताए ।
लगातार र घनघोर पानी पर्ने सम्भावना भएकाले धेरै आत्तिनु नपर्ने उनको भनाइ छ । तर कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन भने मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया