चार वर्षपछि सार्वजनिक मञ्चमा देखिए आयतुल्लाह अली खुमेनी, इस्लामी देशहरूलाई एकताको आह्वान
इरानका सर्वोच्च धार्मिक नेता आयतुल्लाह अली खुमेनी हिज्बुल्लाह नेता हसन नसरल्लाहको मृत्युपछि पहिलो पटक सार्वजनिक मञ्चमा देखा परेका छन् । शुक्रबारको नमाजको अवसरमा मोसल्ला मस्जिदमा आयोजित कार्यक्रममा उनले इस्लामी देशहरूलाई एकताबद्ध हुन आग्रह गरे ।
चार वर्षपछि सार्वजनिक रुपमा सम्बोधन गर्दै खुमेनीले इस्लामिक देशहरूलाई विभाजन गर्न खोज्ने ‘शत्रुहरू’को आलोचना गरे । उनले इजरायलमाथि इरानले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणलाई उचित ठहराउँदै, यो कदम इजरायलको आक्रमणको प्रतिवादमा भएको बताए । उनले भने, “इरानका शत्रुहरू ती हुन् जो प्यालेस्टाइनी प्रशासन र लेबननजस्ता अन्य मुस्लिम राष्ट्रहरूका पनि शत्रु हुन् ।”
कार्यक्रममा ठूलो संख्यामा उपस्थित जनसमुदायले उनको सम्बोधनलाई गम्भीरतापूर्वक सुनेका थिए । सम्बोधनको सुरुवातमा खुमेनीले हिज्बुल्लाहका शीर्ष नेता हसन नसरल्लाहलाई सम्झे, जो हालै इजरायली हवाई आक्रमणमा मारिएका थिए । यसअघि सन् २०२० मा अमेरिकाले इरानी जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि खुमेनीले यसैगरी शुक्रवारको नमाजमा सम्बोधन गरेका थिए ।
इजरायलले हालसालैको हमलामा हसन नसरल्लाहको हत्या गरेपछि इरानले इजरायलमाथि करिब २०० ब्यालिस्टिक मिसाइल आक्रमण गरेको थियो । यस घटनासँगै इरान र इजरायलबीच तनाव बढ्न सक्ने अनुमान गरिएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया