मन्थली–काठमाडौं सडक अवरुद्ध
रामेछाप । लगातारको वर्षाका कारण गएको शनिवार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको मन्थली–काठमाडौं सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।
दोलखाको मेलुङ गाउँपालिकामा रहेको मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा सडक भासिएपछि गाडी आवागमन अवरुद्ध बनेको हो । मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक–काठमाडौंसम्मको आवागमन खुर्कोटमा भएको पुल बगाएपछि वैकल्पिक मार्गका रूपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाडौं आवतजावत गर्ने गरी बाटो खुलाइएको थियो ।
बाटो अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुङ्गाका विभिन्न भागबाट काठमाडौं जाने र ती ठाउँका लागि काठमाडौंबाट छुटेका मालवाहक र यात्रुवाहक गाडी रोकिएका छन् । अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया