Techie IT
Samayabaddha
शनिबार, २७ पुस, २०८१

मेलम्चीको पानी काठमाडौंमा आयो, मन्त्रीले गरे शुभारम्भ


काठमाडौं ।काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकलाई वितरण शुभारम्भ गरेका हुन् ।

सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै काठमाडौं उपत्यकामा खानेपानी लिमिटेड (केयुकेएल)का विभिन्न वितरण शाखामार्फत वितरण गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए ।

‘मन्त्रीज्यू र मेलम्ची संघर्ष समितिबिच सोमबार रातिसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौँ । अहिले यहाँबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ’ लामिछानेको भनाइ छ ।

मेलम्चीको पानी अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)मा आइसकेकाले काठमाडौँ उपत्यकावासीका धारा धारामा पानी वितरण सुरु गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले बताए ।

बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो । उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहँदै आएको छ । मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट