Techie IT
Samayabaddha
शनिबार, २७ पुस, २०८१

एलन मस्कद्वारा डोनाल्ड ट्रम्पलाई जिताउन १० अर्ब रुपैयाँभन्दा धेरै सहयोग


विश्वकै धनी अमेरिकी अर्बपति एलन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार एवम् पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अभियानका लागि ७५ मिलियन डलर रकम दिएका छन् ।

एलन मस्कले डोनाल्ड ट्रम्पको समर्थक अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा झन्डै ७५ मिलियन डलर अर्थात् १० अर्ब रुपैयाँभन्दा धेरै रकम दिएका बीबीसीले जनाएको छ । सरकारी जाँचका क्रममा यो तथ्य पत्ता लागेको हो ।

अमेरिकी राष्ट्रपतिको चुनाव जित्ने रिपब्लिकन उम्मेदवारको प्रयासमा अर्बपति कसरी महत्त्वपूर्ण भएका छन् भन्ने कुरा देखाएको खबरमा उल्लेख छ ।

गएको जुलाईमा ट्रम्पमाथि भएको आक्रमणपछि मस्कले उहाँलाई औपचारिक रूपमा आफ्नो समर्थन दिएका थिए । यद्दपि योभन्दा पहिले पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको देखिएको छ । भर्खरै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको र्यालीका क्रममा मस्क पनि सहभागी भएका थिए । यही ठाउँमा ट्रम्पमाथि आक्रमण भएको थियो ।

अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति पदको चुनाव हुँदैछ । चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस उम्मेदवार हुनुहुन्छ । यस्तै रिपब्लिकन पार्टीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई उम्मेदवार बनाएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट