पश्चिमी बायुले चिसो बढायो, आज देशका केही ठाउँमा बदली र वर्षा
काठमाडौं । पश्चिमी बायु भित्रिएसँगै देशभरि चिसो बढ्न थालेको छ । आज बिहान ५ बजेर ४५ मिनेटमा काठमाडौंको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । आजभन्दा २० दिनअघि अर्थात् अक्टोबर १ तारिखमा काठमाण्डौको न्यूनतम तापक्रम २० दशमलव ४ डिग्री सेल्सियस थियो । २० दिनमै काठमाण्डौको तापक्रम ५ डिग्री सेल्सियसले घटिसकेको छ ।
बितेका चार–पाँच दिनदेखि काठमाडौंको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियसको आसपासमा रहेको मौसम रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको समेत प्रभावले केही ठाउँमा बदली र वर्षासमेत भएकोले चिसो बढेको हो ।
यसैबीच अहिले कोशी, मधेश, बाग्मती, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेकोले केही ठाउँमा बदली र वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेश, बाग्मती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया