Techie IT
Samayabaddha
शनिबार, २७ पुस, २०८१

बीपी राजमार्गमा चौबीसैघण्टा गाडी चलाउन मिल्ने


काठमाडौं । बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेँसीसम्म चौबीसै घण्टा गाडी चलाउन मिल्ने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले हिजो सूचना निकालेर धुलिखेल–भकुण्डेबेँसी सडक खण्डमा चौबीसै घण्टा गाडी चलाउन मिल्ने जनाएको हो ।

यसअघि असोज दोस्रो हप्ताको अविरल वर्षापछिको बाढीपहिरो कारण क्षति भएको बीपी राजमार्गअन्तर्गको धुलिखेल–भकुण्डेबेँसी–बर्खेखोला सडक खण्डमा बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म गाडी सञ्चालनमा रोक लगाइएको थियो ।

सडक डिभिजन कार्यालयले सुक्खा पहिरो खस्न सक्ने तथा काभ्रेपलाञ्चोकको नमोबुद्धको १ नम्बरपुल–चौकीडाँडा–बर्खेखोला खण्डको करिब आठ किलोमिटर सडक ट्रयाक मर्मत–सुधार गरी यात्रा सुरक्षित बनाउनुपर्ने जनाउँदै असोज ३० गतेदेखि सडक खण्ड रातको समयमा बन्द गरेको हो ।

बाढीपहिरोका कारण काभ्रेतर्फ भकुण्डेबेँसी–चौकीडाँडा–बर्खेखोला खण्डका विभिन्न ठाउँमा पूर्णरूपमा बगाएको ८ किलोमिटरभन्दा बढी लम्बाइको सडकमा वैकल्पिक ट्रयाक निर्माण गरेर त्यस रुटमा परमिट भएका बस र साना गाडी सञ्चालनमा ल्याइएको थियो ।

पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको बीपी राजमार्गबाट दैनिक हजारौँ गाडी आउजाउ गर्छन् । राजमार्गको कूल एक सय ६० किलोमिटरमध्ये तेस्रोखण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किलोमिटर गरी ८४ किलोमिटर सडकको विभिन्न ठाउँमा बढी क्षति पुगेको कार्यालयले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट