बाढीले क्षति पुर्याएको खिम्ती–लामोसाँघु प्रसारण लाइन ‘ईआरएस’ टावर प्रयोग गरी सञ्चालनमा
काठमाडौं । एक महिनाअघिको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) टावर प्रयोग गरी सञ्चालनमा ल्याइएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवम् भारप्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले आज दिउँसो प्रसारण लाइनलाई चार्ज गरी सञ्चालनमा ल्याइएको बताए ।
तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा रहेको खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगाएपछि यो लाइनबाट गएको असोज १३ गतेदेखि विद्युत् प्रवाह बन्द हुँदा खिम्तीबाट काठमाण्डौ उपत्यकाको प्रसारण लाइन लिङ्क टुटेको थियो ।
खिम्ती–लामोसाँघु प्रसारण लाइन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण प्रसारण लाइन हो । यो लाइनबाट आएको बिजुलीलाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन्छ । यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएको जलविद्युत् आयोजनाहरूको बिजुली लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया