‘भक्तबहादुर स्मृति प्रतिष्ठान’ को अन्तर्कथा
डा. ऋषिराज बराल
डा. ऋषिराज बराल
के तपाईँहरू ‘चौथो महाधिवेशनका एक कालखण्डका महामन्त्री शेरसिंह अर्थात् कमरेड भक्तबहादुर श्रेष्ठ सम्बद्ध प्रतिष्ठान ‘ भक्तबहादुर स्मृति प्रतिष्ठान’ को वर्तमान स्थितिप्रति रुचि राख्नुहुन्छ ? ‘ ल सुनौं यसको संक्षिप्त कहानी ! कमरेड किरणको नेतृत्त्वमा प्रचण्डले नेतृत्व गरेको पार्टीबाट विद्रोह गरेर नेकपा( माओवादी बनेपछि २०६९ सालमा ‘ भक्तबहादुर स्मृति प्रतिष्ठान’ को गठन भएको थियो ।
छोटो अवधिमै ‘भक्तबहादुर स्मृति प्रतिष्ठान’ ले यसको प्रकृतिअनुसार एकदमै महत्वपूर्ण काम गरेको थियो । यसले कमरेड भक्तबहादुर श्रेष्ठका सङ्कलित रचनाहरूको दुइटा ठेली प्रकाशित गरेको थियो र तेस्रो ठेलीको तयारी गरेको थियो । कमरेड भक्तबहादुर श्रेष्ठ स्मृतिग्रन्थ प्रकाशित गरेको थियो र यसले ‘माओवादी आन्दोलन गति र दिशा’, ‘बहसमा माओवादी आन्दोलन’ ‘मार्क्सवाद र परिचयको राजनीति’ ( Marxism and Identity Politics) प्रकाशित गरेको थियो । तर, देशकाल परिस्थितिका कारण अध्यक्ष सिपी गजुरेलबाहेक सदस्य सचिव ऋषिराज बराल, कोषाध्यक्ष, डा. नन्दीश अधिकारी, सदस्य दिनेश श्रेष्ठसहितको कार्य समितिले त्यहाँ रहेर काम गर्न सकिने स्थितिको अभाव रहेको ठहर गर्दै यसलाई बुद्धनगर लगेर पार्टी अध्यक्ष कमरेड किरण र प्रतिष्ठान अध्यक्ष सिपी गजुरेललाई प्रतिष्ठान जिम्मा लगाएको थियो ।
आरम्भमा यो प्रतिष्ठानमा प्रचण्डसित सम्बन्ध विच्छेद गरेर आएका र पछि बादलसहित प्रचण्डतिरै फर्किएका नेताहरू र विप्लवका पार्टी नेता पनि थिए । तर, मूल पदाधिकारी र सदस्यहरू नेकपा-माओवादी सम्बद्ध भएकाले पछि यस संस्थाले यसै पार्टी अन्तर्गत रहेर काम गर्न थाल्यो । आरम्भमा ऋषिराज बराल र महेश्वर दाहलको प्रयासले गर्दा नेपाल सरकारले खास अवधिका लागि केही आर्थिक सहयोग पनि गरेको थियो । तर, ६ बुँदै प्रस्ताव राखेर नेकपा -माओवादीले प्रचण्डसित एकता गर्ने निणर्य गरेसँगै र ‘इच्छुक प्रतिष्ठान’ मा भएको आर्थिक अनियमितताको कुरा पार्टीका केन्द्रीय सदस्य ऋषिराज बरालले उठाएसँगै – इच्छुक प्रतिष्ठानमा देखादेखि आर्थिक अनियमितता भएको थियो ( किरण र बादलले ऋषिराज बरालमाथि बन्चरो उठाए ९अहिले यसबारे धेरै नभनौँ थुप्रै कुरा छन्, देशकाल परिस्थिति अनुसार भन्दै रहौँला । लहरो तात्दा पहरो गर्जिन्छ ) । अनि ऋषिराज बरालले ‘विसर्जनवादीहरूसित सम्बन्ध विच्छेद’ भन्ने वक्तव्यका साथ नेकपा(माओवादी परित्याग गरे । त्यसपछि ऋषिराज बराललाई ‘भक्तबहादुर स्मृति प्रतिष्ठान’ को सदस्य सचिवबाट बाहिरिन घोषितअघोषित रूपमा सिपी गजुरेलले दबाब दिए । तर प्रतिष्ठान पार्टी होइन र थिएन, त्यसको आफ्नै विधान थियो । चाहेको भए बराल अध्यक्ष हुने स्थिति थियो । तर बहुमत सदस्यले यसरी सोचेनन्, इमानदारी र समझदारीपूर्वक जानु राम्रो हुन्थ्यो, त्यसै गरे । कमरेड भक्तबहादुर श्रेष्ठसित गाँसिएको संस्थालाई विवादमा ल्याउन चाहेनन् ।
यसपछि पनि ‘भक्तबहादुर स्मृति प्रतिष्ठान’ लाई अघि बढाउने प्रयास जारी रह्यो । अड्डाअफिसमा अध्यक्ष खोज्ने र अध्यक्षले समय दिन नसक्ने भएपछि प्रतिष्ठानका अध्यक्षलाई इच्छुक प्रतिष्ठानको जस्तो संरक्षक बस्न र बाँकी रहेकाहरूबाट अध्यक्ष चयन गरेर प्रतिष्ठान चलाउनु सहज हुन्छ भनेर अनुरोध गर्दा प्रतिष्ठानका अध्यक्षले आफूले अध्यक्ष नछोड्ने, बरालले पार्टी छाडेकाले प्रतिष्ठानबाट हट्नुपर्ने भनेपछि समग्र खातापाता, हरहिसाब, केही रकम, ब्याङ्को चेक सिपी गजुरेललाई बुझाएर र पुरानो कमिटीले बिदा लिएको थियो र ब्याङ्कमा केही रकम पनि थियो । तर, त्यसपछि यसलाई नवीकरण पनि गरिएन, यसको वेबसाइट पनि नवीकरण गरिएन । अहिले कमरेड भक्तबहादुरको भतिजो तथा प्रतिष्ठानका पूर्व सदस्य दिनेश श्रेष्ठलगायतको क्रियाशीलतामा हेटौँडामा कमरेड भक्तबहादुरको सालिक बनेको छ ।
अहिले ‘भक्तबहादुर स्मृति प्रतिष्ठान’ कता छ र के-कस्तो छ थाहा छैन । यो बेवारिसे बनेको छ भन्ने बुझिन्छ । यसको प्यान नम्बर चाहिँ ऋषिराज बरालको नाममा छ । अहिले कमरेड भक्तबहादुर श्रेष्ठको परिवार र हेटौँडाका शुभचिन्तकहरू तथा प्रतिष्ठानका पूर्व सदस्य र अन्य शुभचिन्तक बुद्धिजीवीहरू ‘भक्तबहादुर श्रेष्ठ अध्ययन प्रतिष्ठान’ निर्माण गरेर जाने तयारीमा रहेको कुरा चाहिँ थाहा हुन आएको छ । भक्तबहादुर श्रेष्ठलाई अब कुनै खास गुटमा सीमित नगरेर नेपालको माओवादी आन्दोलनको एक जना सङ्घर्षशील, क्रान्तिकारी, इमानदार र अध्ययनशील नेताका रूपमा स्थापित गर्नु सही हुन्छ, भन्ने ‘जनमेल’ को ठहर छ । पुस २७ कमरेड भक्तबहादुर श्रेष्ठको स्मृति सन्दर्भ हो । भरिसक्के ‘भक्तबहादुर स्मृति प्रतिष्ठान’ लाई नै उहाँको वैचारिक आदर्शसित मेल खानेहरूको साझा थलो बनाऔँ, अन्यथा साथीभाइहरूले ल्याउनु भएको ‘भक्तबहादुर श्रेष्ठ अध्ययन प्रतिष्ठान’ को निर्माणको अभियानलाई समयको माग भन्नुपर्ने हुन्छ ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया