अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी, विश्वभरबाट बधाईको ओइरो
वासिङ्टन । अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । २७० इलेक्टोरल भोट भन्दा बढी नतिजा ल्याएर उनी राष्ट्रपति पदमा विजयी भएका हुन् । यस निर्वाचनमा डेमोक्याट दलबाट उमेदवार बनेकी कमला ह्यारिस भने पराजित बनेकी छन् ।
यद्यपी अमेरिकाको राष्ट्रपति चुनावमा पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्कापक्की भएपनि निर्वाचन आयोगले उनको जितको औपचारिक घोषणा गरेको छैन । उनको जितको औपचारिक घोषणा हुन भने बाँकी छ ।
विश्वबाट उनलाई बधाईको ओइरो लागेको छ । यो सूचीमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि छन् । चुनावमा ठूलो जित हासिल गरेकोमा ट्रम्पलाई बधाई भनेर जेलेन्स्कीले भनेका छन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गर्दै उनले ट्रम्पलाई बधाई दिएका हुन् ।
‘सेप्टेम्बरमा ट्रम्पसँग भएको शानदार भेट मलाई याद छ । यस क्रममा हामीले युक्रेन–अमेरिकी रणनीतिक साझेदारी, विजयको योजना र युक्रेन विरुद्ध रुसको आक्रामकता समाप्त गर्ने तरिकाबारे छलफल गरेका थियौँ ।’ पोस्टमा उनले लेखेका छन् ।
ट्रम्प अमेरिकाको पूर्वराष्ट्रपति पनि हुन् । उनले २० जनवरी २०१७ देखि २० जनवरी २०२१ सम्म ४५ औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका थिए । ४५ औँ राष्ट्रपतिका लागि सन् २०१६ मा भएको निर्वाचनमा ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए ।
अमेरिकाको इतिहासमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति पदमा पुग्न सकेका छैनन् । सन् २०१६ को निर्वाचनमा हिलारीका सामु उक्त इतिहास रच्ने अवसर थियो । तर ट्रम्पले उनलाई पराजित गरे ।
अमेरिकी राष्ट्रपति पदमा आफ्नो जित भएको दाबी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले गरेका छन् । फ्लोरिडामा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफ्नो जित भएको बताएका हुन् ।
बेलायतका प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पलाई ऐतिहासिक जितका लागि बधाई दिएका छन् ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै विश्वको सुन तथा कच्चा तेलको बजार घटेका छन् । बुधवार यो समाचार तयार पार्दासम्म विश्व बजारमा सुनको मूल्य ०.६३ प्रतिशत तथा चाँदीको मूल्य १.२१ प्रतिशतले घटेको छ ।
त्यस्तै, कच्चा तेलको बेलायती बजार ब्रेन्टमा तेलको मूल्य १.६७ प्रतिशतले घटेर प्रतिब्यारेल ७४.२२ अमेरिकी डलरमा झरेको छ । उता अमेरिकी बजार वेष्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) बजारमा कच्चा तेलको मूल्य १.७४ प्रतिशतले घटेर प्रतिब्यारेल ७०.७७ मा झरेको छ ।
अमेरिकामा रिपब्लिकन उम्मेदवारलाई कम उदार मानिन्छ । पहिलो कार्यकालमा ट्रम्पले ‘अमेरिका पहिलो’ भन्ने नारा लिएका थिए । त्यही कारणले उनको कार्यकालमा देशको अर्थतन्त्रसँगै अमेरिकी डलर समेत बलियो हुनसक्ने भएकोले विश्वका लगानीकर्ताको रोजाइ सुन र बच्चा तेल भन्दा डलरमा बढी परेको हो ।
संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुँदा विश्वका विभिन्न देशका स्टक मार्केटहरूले फरक फरक प्रतिक्रिया देखाएका छन् । विश्वमा सबैभन्दा चर्चित रहेका स्टक बजारदेखि रणनीतिक रूपमा महत्त्वपूर्ण रहेका बजारसम्मले फरक फरक प्रतिक्रिया देखाएका हुन् ।
खासगरी अमेरिका, युरोपदेखि रसिया र भारतीय स्टक मार्केटमा यसको सकारात्मक प्रतिक्रिया देखिँदा चीन र मध्यपूर्वका देशहरूको बजार भने घटेका छन् । विश्वकै सबैभन्दा ठुलो स्टक एक्सचेन्ज मानिने अमेरिकी स्टक बजार न्यूयोर्क स्टक एक्सचेन्ज आज बढेको छ । यो समाचार तयार पार्दासम्म उक्त स्टक एक्सचेञ्ज परिसूचक १.३५ प्रतिशतले बढेको हो ।
अमेरिकाकै डाउ जोर इन्डष्ट्रियल एभरेज २.४२ प्रतिशतले बढेको छ । त्यस्तै एसपी ५०० परिसूचक १.२३ प्रतिशत तथा नास्वाक कम्पोजिट परिसूचक १.४२ प्रतिशतले बढेको छ ।
डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा पुनरागमन गर्दैछन् । अमेरिकी राष्ट्रपति पदका लागि भएको निर्वाचनमा पपुलर भोटमार्फत विजयी भएका ट्रम्प औपचारिक रूपमा निर्वाचित हुन इलेक्टोर मत हासिल गर्न बाँकी छ ।
डोनाल्ड ट्रम्प अमेरिकाको यस्तो दोस्रो राष्ट्रपति हुनेछन्, जसले एक कार्यकाल राष्ट्रपति पद सम्हालेर दोस्रो निर्वाचनमा पराजित भइ तेस्रो निर्वाचनमार्फत सोही पदमा पुनरागमन गर्न सफल भए ।
यसअघि अमेरिकाका २२ औँ राष्ट्रपति ग्रोभर क्लेभेलान्डले यो इतिहास रचेका थिए । उनी सन् १८८४ मा अमेरिकाको राष्ट्रपतिमा पहिलो पटक निर्वाचित भएका थिए । तर, सन् १८८८ मा भएको निर्वाचनमा उनी पराजित भए । सन् १८९२ मा भएको निर्वाचनमा भने उनी फेरि राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयोन्मुख रहँदै भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएका हुन् । सामाजिक सञ्जाल ‘एक्स’ (यसअघि ट्वीटर भन्ने गरिन्थ्यो) मा मोदीले लेखेका छन्, ‘ऐतिहासिक जितका लागि मेरा मित्र डोनाल्ड ट्रम्पलाई हार्दिक बधाई ।’
मोदीले ट्रम्पको अघिल्लो कार्यकालमा जस्तै भारत–अमेरिका व्यापक वैश्विक र रणनीतिक साझेदारीलाई अझ बलियो बनाउन आपसी सहयोग अभिवृघि गर्न आफू उत्सुक रहेको बताएका छन् ।
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले डोनल्ड ट्रम्पलाई जितको लागि बधाई दिएका छन् । ‘ऐतिहासिक महान् पुनरागमनका लागि बधाई’ भनेर उनले भनेका छन् ।ह्वाईट हाउसमा ऐतिहासिक पुनरागमनले अमेरिकालाई नयाँ सुरुआत दिने र इजरायल–अमेरिकाबिच महानतम् गठबन्धनको शक्तिशाली प्रतिबद्धताको अवसर दिएको उनले भनेका छन् ।
ट्रम्पको जितलाई उनले ठूला जित भनेका छन् । यसैबिच हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले पनि यस्तै खालको बधाई दिएका छन् । उनले ट्रम्पको जितलाई विश्वलाई अति नै चाहिएको जित भनेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया