आज हरिबोधिनी एकादशी भव्य रुपमा मनाइदै
काठमाडौं । आज हरिबोधिनी एकादशी देशैभरि भव्य रुपमा मनाइदैछ । हरिबोधिनी एकादशीलाई भगवान विष्णुको निद्राबाट उठ्ने दिन मानिन्छ । जनविश्वास अनुसार, आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी)को दिन भगवान विष्णु चार महिनाको लागि योगनिद्रामा जान्छन् र कार्तिक शुक्ल एकादशीको दिन उनी उठ्छन् भन्ने मान्यता राखिन्छ । यी चार महिनाको अवधि, जसलाई ‘चातुर्मास’ भनिन्छ, धार्मिक कार्यहरू, अनुष्ठानहरू र उपवासका लागि विशेष महत्वपूर्ण मानिन्छ । हरिबोधिनी एकादशीका दिन विष्णु भगवान पुनः जाग्रत हुने मान्यताले धार्मिक उत्सवले जीवन्तता पाउँने गरेको छ ।
हरिबोधिनी एकादशीको दिन विष्णु भगवान, विशेष गरी उनको अवतार राम र कृष्णको पूजाआजा गरिन्छ । भक्तजनले यो दिन व्रत बस्ने, उपवास गर्ने, तथा मन्दिरमा पूजा अर्चना गर्ने गर्दछन् । हरिबोधिनी एकादशीलाई विशेषतः पवित्र कार्यको आरम्भको दिनका रूपमा मानिन्छ । यो दिन विवाह, व्रतबन्ध, मठमन्दिरको स्थापना आदि धार्मिक कार्यहरूका लागि अत्यन्त शुभ मानिन्छ । हरिबोधिनी एकादशीलाई विशेष गरी दान पुण्यको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । यस दिन दान गर्नाले पाप मोचन हुने र पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।
आज भक्तजनहरूले तुलसीको पनि विशेष पूजा गर्दछन्, किनभने तुलसीलाई भगवान विष्णुको प्रिय मानिन्छ । तुलसी विवाहको परम्परा पनि यसै दिनबाट सुरू हुन्छ, जसमा तुलसी र शालिग्रामको विवाह गरिन्छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइन्छ ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिंग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन भन्ने धार्मिक विश्वास छ ।
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।
तुलसीको सुगन्धले दशदिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन ।
तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन ।
तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोना, डेङ्गुजस्ता रोगबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक डाक्टरहरुले बताउने गरेका छन् ।
आजका दिन काठमाडौँ उपत्यकाका बुढानिलकष्ठ मन्दिर, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया