बजारमा पैसा धेरै थुप्रिएपछि ५० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा पैसा धेरै थुप्रिएपछि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तान्न लागेको छ । कार्तिक २१ गते राष्ट्रबैंकले एक खरब रुपैयाँ बजारबाट तानेको थियो । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम तान्न लागेको हो ।
निक्षेप संकलन खरिदका लागि बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।
अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा तान्न लागिएको राष्ट्र बैंकले जनाएको छ । हालको व्यवस्था अनुसार अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनु पर्छ । यो प्रक्रियालाई ब्याजदर करिडोर भनिन्छ ।
ब्याजदरमा अस्वभाविक परिवर्तन नहोस र स्थायित्व कायम होस् भन्नका लागि राष्ट्र बैंकले ब्याजदर करिडोर कार्यान्वयनमा ल्याएको हो । यसैगरी, वित्तीय प्रणालीमा पैसा धेरै भएकै कारण ब्याजदर निकै तल नझरोस् भन्नकै लागि राष्ट्र बैंकले हरेक दिनजसो बजारबाट पैसा तानिरहेको छ ।
सोमबारसम्ममा निक्षेप संकलन उपकरण मार्फत ९० अर्ब र स्थायी निक्षेप सुविधामार्फत १ खर्ब २९ अर्ब ७० करोड तरलता तानेको छ । सोमबारको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६३ खर्ब ४५ अर्ब पुग्दा कर्जा लगानी ५१ खर्ब ५१ अर्ब पुगेको छ । औसत कर्जा निक्षेप अनुपात करिब ७९ प्रतिशतमा झरेको छ ।
हाल नेपालमा बैंकिङ प्रणालीमा थुप्रिएको ठूलो मात्रामा तरलता एउटा गम्भीर चिन्ताको विषय बनिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अत्यधिक रकम थुप्रिनुको मुख्य कारण ऋण लगानीको कमी हो । पछिल्लो समयमा बैंकहरूले निक्षेप संकलनमा उल्लेख्य वृद्धि गरेका छन्, तर ऋण लगानी गर्न सकिरहेका छैनन् । व्यवसायीहरुले लामो समयदेखि एक अंकको ब्याजदरको माग गर्दै आएका थिए तर एक अंको ब्याजमा पनि अझ तल झरिरहेको अवस्थामा पनि पैसा लगानी हुनुनसक्नुमा पहिलो, आर्थिक मन्दीको अवस्थाले लगानीको उत्साह बढ्न सकिरहेको छैन । मन्दीको प्रभावले गर्दा नयाँ परियोजना सुरु गर्न हिच्चकिचाहट बढेको छ जसले बैंकहरूमा ऋण माग घटाएको छ ।
बैंकहरूमा तरलता थुप्रिएपछि अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्दछ । यो रकम उत्पादक क्षेत्रमा प्रयोग हुन नसक्दा आर्थिक वृद्धि तथा रोजगारी सिर्जना जस्ता पक्षमा बाधा पुग्छ । यस समस्यालाई समाधान गर्न सरकारले व्यवसायमैत्री नीतिहरू ल्याउनुपर्ने र बैंक तथा वित्तीय संस्थाले प्रभावकारी योजनाहरू लागू गर्नुपर्ने आवश्यकता छ । यदि बैंकहरूले राम्रो योजना तथा जोखिम व्यवस्थापनका साथ ऋण लगानीलाई प्रोत्साहित गर्न सकेमा यो तरलता उत्पादनमा परिणत हुँदै आर्थिक वृद्धिलाई अघि बढाउन सघाउ पु¥याउन सक्छ ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया