Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

बेलायतमा नयाँ कोइला खानी खोल्न प्रतिबन्ध लगाउने तयारी


बेलायतले नयाँ कोइला खानीहरूमा प्रतिबन्ध लगाउने कानून ल्याउने घोषणा गरेको छ । बेलायतलाई स्वच्छ ऊर्जाको अग्रणी बनाउने सरकारको योजनाअनुसार कोइला खानी प्रतिबन्ध लगाउने तयारी भएको हो ।

जलवायु परिवर्तनको सामना गर्न महत्त्वपूर्ण कदम भन्दै चाँडै नयाँ कोइला खानीहरूको भविष्यको इजाजतपत्र प्रतिबन्धित गर्न नयाँ कानून ल्याउने बेलायती सरकारले घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

यसअघि गएको अक्टोबरमा कोइलाबाट चल्ने पावर स्टेशन रेटक्लिफ–अन–सोअर बन्द भएको थियो । योसँगै अब बेलायतमा कोइलाबाट चल्ने कुनै पनि आयोजना बाँकी छैनन् । यसले बेलायतलाई बिजुलीका लागि जीवाश्म इन्धनमा निर्भरता अन्त्य गर्ने पहिलो जी ७ देश बनाएको छ ।

सन् २०१२ मा बेलायतको बिजुली आपूर्तिको झण्डै ४० प्रतिशत उत्पादन गर्ने कोइला अहिले शून्य प्रतिशतमा पुगेको खबरमा उल्लेख छ । बेलायतले सन् २०३५ सम्ममा सन् १९९० को स्तरमा हरित गृह ग्यास उत्सर्जन ८१ प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट