Techie IT
Samayabaddha
बुधबार, १७ पुस, २०८१

प्रधानमन्त्री ओलीले दुवै छिमेकीसँग सुमधुर सम्बन्ध स्थापित गर्न सकेनन् : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले नेपालका दुवै छिमेकीसँग सुमधुर सम्बन्ध स्थापित गर्न परिपक्कता देखाउन नसकेको आरोप लगाएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको डिसेम्बरमा हुने भनिएको चीन भ्रमण ‘चाइना कार्ड’ का रूपमा प्रयोग गरिरहेको आरोप समेत लगाएका छन् ।

भारतीय च्यानल द हिन्दुसँगको अन्तरवार्तामा प्रचण्डले भने, ‘पहिले चीन जानु भनेको प्रधानमन्त्री ओलीले देखाएको अपरिपक्वताको प्रमाण हो । सरकारले दुवै देशसँगको सम्बन्धमा परिपक्वता देखाउन सक्नुपर्थ्यो । केपीजी द्विपक्षीय भ्रमणका लागि चीन जाँदै हुनुहुन्छ, तर यो भ्रमण ‘चाइना कार्ड’ प्रयोग गर्नेमा देखिन्छ । यो गलत हो । हाम्रो इतिहास, संस्कृति र भूगोलले हामीले दुई छिमेकीसँगको सम्बन्धलाई मिलाएर जानुपर्छ भनेर निर्देशित गर्छ । उहाँले चीन जानुभन्दा अघि भारतसँगको विशिष्ट सम्बन्ध स्वीकार गर्नुपर्छ । यो हुनु हुँदैन थियो ।’

अन्तरवार्ताको क्रममा उनले आफ्नो प्रधानमन्त्रीकालमा भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको पनि दाबी गरे । आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको र विभिन्न महत्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षरसमेत भएको स्मरण गराए ।

प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा जाँदा पनि प्रधानमन्त्री मोदी र विदेश मन्त्री एस जयशंकरसँग छलफल भएको जानकारी दिए । यसले दुई देशको राष्ट्रिय चासोका आधारमा बलियो सम्बन्ध स्थापना भएको प्रचण्डको दावी थियो । ‘मेरो सरकार ढलेपछि नेपालमा जे भइरहेको छ, त्यो गलत भइरहेको छ,’ प्रचण्डले भने ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट