Techie IT
Samayabaddha
सोमबार, ७ माघ, २०८१

स्तरोन्नतिका लागि आजदेखि मालढुङ्गा–बेनी सडक दैनिक छ घण्टा बन्द हुने


काठमाडौं । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आजदेखि मङ्सिर ११ गतेसम्म दैनिक छ घण्टा सडक खण्ड बन्द गर्न लागिएको हो ।

सडकको प्रवेश विन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा सडकको क्षेत्राधिकारमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र मालढुङ्गाबाट लस्तीसम्म कालोपत्र गर्न गाडी बन्द गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले आजदेखि आठ दिनसम्म बिहान १० देखि दिउँसो ४ बजेसम्म गाडीको आवतजावत रोकेर निर्माणको काम गर्ने निर्णय भएको जानकारी दिए । म्याग्दी र मुस्ताङ आवतजावत गर्ने गाडीको चापका कारण निर्माण प्रभावित भएकाले समय तालिका बनाइएको उनले बताए ।

सडक खण्ड अवरुद्ध हुँदा मालढुङ्गा–बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ । अत्यावश्यक एम्बुलेन्स, दमकल र शववाहन सञ्चालनका लागि भने आवश्यक सहजीकरण गरिने आयोजनाले जनाएको छ ।

कुश्मा–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट