बसपार्क नजिक विष्णुमती करिडोरका ८२ वटा टहरा हटाइयो
काठमाडौं । टोखा नगरपालिकाले वडा नम्बर ९ नयाँ बसपार्कको विष्णुमती करिडोरमा अवैध रूपमा सञ्चालन भएका ८२ वटा टहरा हटाएको छ । नगरपालिकाले आज नयाँ बसपार्क पुलबाट सामुदायिक सेवा केन्द्रसम्म विष्णुमती खोला करिडोरमा निर्माण गरी सञ्चालनमा रहेका ८२ वटा टहरा पसल हटाएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले विष्णुमती नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना हटाइएको जानकारी दिए । सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाएको उनको भनाइ छ ।
नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नम्बर ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रूपमा निर्माण गरिएका संरचना हटाएको हो ।
नगरपालिकाका मेयर प्रकाश अधिकारीले टोखावासीलाई विष्णुमती करिडोरबाट आवतजावत लागि सहज होस् भन्ने उद्देश्यले डोजर लगाइएको बताए । टोखाभित्र एक हजारभन्दा धेरै रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै यसलाई संरक्षण गर्ने योजना नगरपालिकाको रहेको उनको भनाइ छ ।
टोखा नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमती करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाएको थियो । नगरपालिकाले केही दिनअघि सूचना जारी गरेर सार्वजनिक जग्गामा बनेका संरचना हटाउन नगरवासीलाई आग्रह गरेको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया