Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

कार्यकर्ताको भरणपोषण गर्ने योजनाको अन्त्य गर्न पालिका अध्यक्ष शाहद्धारा मुख्यमन्त्रीको ध्यानाकर्षण


बाँके । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्य पहिलो पटक बाँकेको नरैनापुर पुगे पछि गाउँपालिकाले बुधबार पालिका परिसरमा एक कार्यक्रमका बीच स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा बोल्दै मुख्य मन्त्री आचार्यकले दुर्गम क्षेत्रको नरैनापुरमा पुग्दा आफूलाई खुशी बनाएको बताउदै नरैनापुरलाई प्रदेशको बिशेष प्राथमिकता राखिने प्रतिबद्धता व्यक्त गरे । उनले उत्पादनमुखी कार्यक्रम तथा योजनामा जोड दिन पालिकालाई निर्देशन दिए । नागरिकको आयआर्जन वृद्धि गर्न उत्पादनमुखी आयोजना आवश्यक भएकाले उनले यस्तो निर्देशन दिएका हुन् ।

नरैनापुर आएका मुख्यमन्त्री आचार्यले स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात, विद्युत्, कृषि, पूर्वाधारलगायत क्षेत्रमा आधारभूत विकास भइसकेकाले अब उत्पादनशील काममै जोड दिनुपर्ने उनको भनाइ छ ।

संघीयतापछि दूरदराजमा आधारभूत विकास भइसकेको र विकास भएका संरचनाको सेवा उपभोग गर्न सक्ने खाले नागरिकको आयस्तर वृद्धि गर्न आवश्यक रहेकामा उनले जोड दिए ।

खानेपानी, कृषि, स्वास्थ्य, शिक्षाका विभिन्न अवसरमा पनि विपन्न नागरिक आर्थिक अभावका कारण पछि परेकाले नरैनापुरको समृद्धि नागरिकको आयस्तर वृद्धिबिना सम्भव नभएको उनको भनाई थियो ।

प्रदेश र स्थानीय तहको कुल बजेटको ५० प्रतिशत बजेट पूर्वाधार विकासमा मात्रै गइरहेको छ । विकास निर्माण भएका पूर्वाधारको सेवा उपभोग गर्ने नागरिकको आयस्तर नभएको उनको भनाइ छ ।

टुक्रे बजेट र योजनाले नागरिकको आयस्तर वृद्धि हुने स्थिति नभएकाले स्थानीय तहलाई योजना बनाएर विकास गर्न र विकास माग्नसमेत मुख्यमन्त्री आचार्यले सुझाव दिए ।

स्थानीय तहसँग प्रभावकारी समन्वय नभएका कारण प्रदेशबाट आउने योजना आवश्यकतामुखी नभएको गुनासो आएको मुख्य मन्त्री आचार्यकले बताएका थिए ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले मुख्यमन्त्री आचार्यलाई सिफारिस गरेका योजना पठाउन माग गरेका छन् । नरैनापुर गाउँपालिका अध्यक्ष भने, ‘प्रदेशमा धेरै पटक योजना माग गरियो तर माग भएका योजना कहिले परेनन् । योजना सधैँ झ्यालबाट आउन थालेपछि माग्न छाडियो । आवश्यकताअनुसार योजना आउने वातावरण लुम्बिनीमा छैन ।’
अध्यक्ष शाहले समुदायबाट माग भई आएका योजना कहिले नआउने र सांसद, मन्त्रीका कार्यकर्ता भरणपोषण योजना आउने गलत प्रवृत्ति अन्त्य गर्नसमेत मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

पालिकाका तर्फबाट ११ बुँदे माग पत्र मुख्य मन्त्रीलाई हस्तान्तरण गर्दै राजनीति शक्तिका आधारमा आउने योजनाले समुदायको हित नभएको बताउदै भने, प्रदेशभन्दा स्थानीय तहले नागरिकको आयस्तर वृद्धि हुने भएकोले सोही बमोजिमको कार्यक्रममा जोड दिँदै आएको बताएका थिए । कार्यक्रममा नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी, लेखा अधिकृत भरत बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

 


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट