बीपी राजमार्गको धुलिखेल–बर्खेखोला खण्ड राति सात घण्टा बन्द रहने
काठमाडौं । धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेकोले हिजोदेखि राति सात घण्टा सडक बन्द गरिने भएको छ । यससँगै बीपी राजमार्गमा हरेक दिन राति नौ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
राजमार्गअन्तर्गत धुलिखेलदेखि बर्खे खोलासम्मको सडक खण्डमा चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेको छ । अर्को सूचना नभएसम्मका लागि राजमार्गमा तोकिएको समयमा राति गाडी नचलाउन कार्यालयले आग्रह गरेको छ ।
गएको असोज दोस्रो हप्ता बाढी पहिरोका कारण क्षतिग्रस्त भई अस्थायी रुपमा एकतर्फी सञ्चालनमा ल्याइएको बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडक खण्डमा लगाइएको रोकसमेत कायमै छ । सुक्खा पहिरो जानसक्ने भएकाले सडक डिभिजन कार्यालयले रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको हो ।
सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले अस्थायी रुपमा निर्माण गरिएको सडकमा पहिरो आउनसक्ने भएकाले तत्कालै खोल्ने अवस्था नरहेको बताए ।
देशको पूर्वी भाग जोड्ने छोटो दूरीका रुपमा रहेको बीपी राजमार्गबाट दैनिक हजारौँ गाडी आवतजावत गर्छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया