चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
झापा । झापाको मेचीनगर नगरपालिका–५ मा रहेको नकलबन्दा टी इस्टेटले ३३ वर्षअघि हडपेको १० बिघा पाँच कठ्ठा सात धुर सरकारी जग्गा सरकारकै स्वामित्वमा फर्काएको छ ।
मेचीनगरका मेयर गोपाल बुढाथोकीले नगर प्रहरी, उपप्रमुख, वडाध्यक्षहरुसहित जग्गा रहेको चिया बगानमा पुगेर जग्गा सरकारको स्वामित्व र नगरपालिकाको संरक्षणमा रहने घोषणा गरे।
मेयर बुढाथोकीले सरकारको नाममा कायम भइसकेको जग्गा चिया बगानले भोगचलन गरिरहेको हुँदा अबउप्रान्त नगरपालिकाले यसको संरक्षण र उपयोग गर्ने सन्देश सार्वजनिक गर्न साइनबोर्ड पनि राखिएको बताए ।
भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका अनुसार अहिले चिया बगान रहेको जग्गा २०४८ असोज २५ गते उद्योगी दिनेशप्रसाद कानुले आफ्नो नाममा दर्ता गरेका थिए ।
ऐलानी पर्ती रहेको जग्गालाई कानुले छुट दर्ताको पर्चा खडा गरेर आफ्नो नाममा दर्ता गरेको र आफ्नै स्वामित्वको नकलबन्दा टी इस्टेटलाई २०५५ असोज ११ गते बिक्री गरेका थिए ।
सरकारी जग्गालाई निजी बनाएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६६ मङ्सिर २२ गते नकलबन्दा टी इस्टेटको नाममा रहेको जग्गा बदर गरी सरकारको कायम गर्ने निर्णय गरेको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया