‘मनोकाङ्क्षा’ मुक्तक सङ्ग्रह लोकार्पण
काठमाडौँ, ८ मंसिर । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले मीना चौलागाईंद्वारा रचित ‘मनोकाङ्क्षा’ मुक्तक सङ्ग्रहको लोकार्पण गरेका छन् ।
एक समारोहबिच प्रज्ञा–प्रतिष्ठानको पारिजात प्रवचनकक्षमा शनिबार लोकार्पण गरिएको अवसरमा कुलपति राईले मुक्तकले घटनाप्रधान र विषयवस्तुको प्रभावजन्य झट्का उत्पन्न गर्न सक्नुपर्ने बताए । मुक्तक दर्शनढुङ्गा र चकमक ठोस्दा निस्किने झिल्को जस्तै बन्न सक्नुपर्ने उनको भनाई थियो । यस अर्थमा मुक्तककार मीना चौलागाईंका मुक्तक भावोत्पादक र सामयिक मूल्यबोध गर्न सक्षम रहेको राईले बताए ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले मीना चौलागाईंद्वारा रचित ‘मनोकाङ्क्षा’ मुक्तक सङ्ग्रहमा प्रेम तथा शृङ्गारिक मनोभावना व्याप्त रहेको बताइन् । उनले मुक्तकमा सुखदु:खका कुरा, यथार्थ अनुभूति, मातृप्रेम, मानवीय संवेदना र आरोहअवरोह चित्रण भएको बताइन् । उक्त लोकार्पित मुक्तक सङ्ग्रहबाट पार्वती भट्ट, कार्मु चौलागाईं, प्रकाश बस्नेत गफाडी र निलाञ्जला भारद्वाजले तीन/तीनवटा मुक्तक वाचन गरेका थिए ।
कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवकर पौडेल लगायतका मुक्तककारहरु सुनिल अधिकारी, रमेश पौडेल र प्रतीक ढकालका साथै कोमल ढुङ्गाना र आयुश्री चौलागाईंले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा महासचिव यादव भट्टराईको उद्घोषण र प्रतिष्ठानका केन्द्रीय सदस्य दिव्य गिरीको स्वागत मनतव्य रहेको थियो ।
क्याटेगोरी : समाचार, साहित्य
प्रतिक्रिया