दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन् ।
केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अनुसन्धान गर्न उनलाई थप १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो । मंसिर ४ मा भक्तपुरबाट पक्राउ परेका प्रसाईँविरुद्ध कम्तीमा ५ वटा कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ र संगठित अपराध मुद्दामा उनलाई अभियोजन गर्ने सरकारी तयारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा उनीविरुद्ध प्रहरीले लिखत किर्ते सम्बन्धी मुद्दा अगाडि बढाउने भएको छ । प्रधानमन्त्री ओलीले कम्बोडियाको एक टेलीकम कम्पनीमा लगानी गरेको भनेर फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सो कागजात भुवन भुषालले अपलोड गरेका थिए । कम्बोडियामा बस्ने ईश्वर पोखरेल ‘सफल’सँग प्रसाईँले भिडियो कुराकानी गर्दै सो कागजात देखाएका थिए । प्रसाईँले अपलोड गरेको नागरिकताको फोटोकपी र प्रधानमन्त्रीको सक्कली नागरिकता मेल नखाएको अनुसन्धानमा संलग्न सीआईबीका अधिकृतहरू बताउँछन् ।
भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा उनीविरुद्ध ‘आपराधिक लाभ लिन नहुने’ कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । धम्की दिनेहरूले प्रसाईँ नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानलाई चन्दा माग्ने गरेका छन् । सीआईबीले गरेको प्रारम्भिक अनुसन्धानमा भारतबाट मात्रै १४१ वटा कल आएको भेटिएको छ । त्यसरी फोन गर्नेहरूले भन्छन्, ‘म लरेन्स ग्याँङबाट हुँ, दुर्गा प्रसाईँले हिन्दु धर्म जोगाउन लडेको हुनाले उहाँलाई आर्थिक सहयोग गर्नुस् ।’ धम्की दिने समूह र दुर्गा प्रसाईंको बिचमा प्रहरीले ‘कनेक्सन’ खोजिरहेको छ ।
प्रसाईँ नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको बैंक खाता र उनको आफ्नो व्यक्तिगत खातामा पनि शंकास्पद रकम जम्मा भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
राष्ट्रबैंकको फाइनान्सियल इन्फर्मेसन युनिट ९एफआईयु०ले प्रसाईँ र उनका केही आफन्तहरूको खातामा शंकास्पद कारोबार भएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको छ । सीआईबीका एसपी बोगटी भन्छन्, ‘राष्ट्र बैंकबाट पत्र आएको छ, हामी त्यसबारे पनि अनुसन्धान गर्दै छौँ ।’
प्रसाईँले विभिन्न बैंकबाट ६ अर्ब ऋण लिएको भेटिएको छ । तर, त्यस्तो ऋण सदुपयोग भएको वा नभएको बारेमा पनि प्रहरीले अनुसन्धान थालेको छ । ऋण रकम सदुपयोग नगरेको भेटिएमा राष्ट्रबैंक ऐन पनि आकर्षित हुने एसपी बोगटीले बताए । उनले भने, ‘प्रसाईंबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’
यसअघि असोज ६ मा पनि प्रसाईँलाई प्रहरीले पक्राउ गरेको थियो । साइबर अपराध मुद्दामा त्यसबेला उनी धरौटीमा रिहा भए । करिब दुई महिनाको बिचमा उनी दोस्रो पटक पक्राउ परेका हुन् ।
क्याटेगोरी : प्रदेश खबर, समाचार
प्रतिक्रिया