मानव तस्करी प्रकरण : कोशीका सांसद लिलाबल्लभ अधिकारीविरूद्द मुद्दा नचल्ने निर्णय
काठमाडौं । मानव तस्करी प्रकरणमा कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिइएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनलाई मुद्दा नचलाउने निर्णय गर्दै अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा पेस गरेको हो ।
जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माका अनुसार अभियोगपत्र पेस भएको र केहीबेरमा दर्ता हुने छ ।
कार्तिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान गएका थिए । सांस्कृतिक कार्यक्रमका लागि त्यहाँ हिँडेका तत्कालीन मन्त्री अधिकारी र कञ्चन देवकोटाका लागि बिचौलियाले टोकियोमा एउटै होटल बुकिङ गरिदिएको भेटिएको थियो ।
टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौं फर्किएका तत्कालीन मन्त्रीसहित ४ जना र ३ जना बिचौलियालाई प्रहरीले पक्राउ परेका थिए । पक्राउ पर्ने बिचौलियाहरूमा धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल छन् ।
दावा शेर्पाका भाइ जापानमा बस्छन् । नेपालमा ट्रेकिङ्गको काम गर्ने शेर्पाका भाइले दोलखाका वीरबहादुरलाई चिनेका थिए । त्यही चिनजानका कारण जापान जान दावाले वीरबहादुरको बैंक खातामा ११ लाख ५५ हजार डिपोजिट गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
देवकोटाले जापान जान १० लाख बुझाएको भेटिएको छ । कार्तिक १४ मा डिपोर्ट भएर फर्केपछि उनीहरु काठमाडौँ विमानस्थलमा पक्राउ परेका थिए ।
जापानबाट फिर्ता भएका शेर्पाले खोटाङस्थित ऐशेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्यको परिचयपत्र, देवकोटा र राईले कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’को परिचयपत्र बनाएको भेटिएको थियो ।
क्याटेगोरी : प्रदेश खबर, समाचार
प्रतिक्रिया