Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

४१ पदका लागि मतदान सुरु, मतदाता नामावलीमा नाम भएकाले परिचयपत्रका आधारमा हाल्न पाउने


काठमाडौं । पालिकामा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । अहिले बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । उपचुनावको लागि एक सय ६२ मतदानस्थल र दुई सय ९३ वटा मतदानकेन्द्र तोकिएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष र ३३ वडाध्यक्ष गरी ४१ पदका लागि उपचुनाव भएको हो ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा २० राजनीतिक दलका र स्वतन्त्रसमेत गरेर तीन सय ७६ जना उम्मेदवार छन् । उपचुनाव हुने पालिकामा दुई लाख २६ हजार सात सय ९९ मतदाता छन् । निर्वाचन आयोगले मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको चुनाव चिन्हमा निर्धक्क भई मतदान गर्न सबै मतदातालाई आग्रह गरेको छ ।

मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बरको परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

यस्तै चुनावी सुरक्षामा असर नपर्नेगरी मतदाताको सहजताका लागि मतदानस्थलको निश्चित क्षेत्रबाहेक यातायात सञ्चालनको उपयुक्त व्यवस्था गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको आयोगको भनाइ छ ।

मतदान हुने सम्बन्धित पालिका र वडामा आज सार्वजनिक बिदा दिइएको छ । आयोगले मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्नेरगराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ ।

आयोगले मतदानमा अवाञ्छनीय प्रभाव पार्ने वा पार्न प्रयत्न गर्ने कार्य भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाध रूपमा सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशनसमेत दिएको छ ।

मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट