Techie IT
Samayabaddha
बुधबार, २ माघ, २०८१

तीन टेलिभिजनका श्रमजीवी पत्रकारलाई बाँकी बक्याैता दिलाउन सफलता


सेभेन स्टार फाेर के टेलिभिजन, एभिन्यु टेलिभिजन र पतञ्जली टेलिभिजनमा श्रमजीवी सञ्चारकर्मीहरूको बाँकी बक्यौता दिलाउने र न्यूनतम सेवा सुविधाको सुनिश्चितता गराउने काम सफल भएको छ । यो उपलब्धि श्रमजीवी पत्रकारका स्थापित नेता जन्मदेव जैसीको नेतृत्व र पहलका कारण सम्भव भएको हो ।

तीन वटै टेलिभिजनमा श्रमजीवी सञ्चारकर्मीहरूले लामो समयदेखि बाँकी तलब र सेवा सुविधाका लागि संघर्ष गरिरहेका थिए । नेपाल पत्रकार महासंघ तथा श्रमजीवी पत्रकारहरूका लागि खुलेका संघसंस्थाहरूको भूमिका यस मुद्दामा खासै देखिएन । श्रमजीवी सञ्चारकर्मीहरूले न्याय दिलाउन यी संस्थामा जाँदा कुनै सुनुवाइ नभएकाे गुनासाे गरेका छन् ।

एभिन्यु टेलिभिजनकी ममता थापाले आन्दोलन सफल बनाउनुमा जन्मदेव जैसीको प्रत्यक्ष भूमिका रहेको बताइन् । उनले भनिन्, “आन्दोलनको दवावका कारण केही बक्यौता भुक्तानी भयो तर अझै थप संघर्ष गर्नुपर्ने देखिएको छ ।”

सेभेन स्टार फाेर के टेलिभिजनका सक्रिय पत्रकार रामप्रसाद धितालले श्रमजीवी सञ्चारकर्मीको पक्षमा चलिरहेको अभियानप्रति ऐक्यबद्धता जनाउँदै भने, “जन्मदेवकाे नेतृत्वमा श्रमको उचित सम्मानको अभियान निरन्तर अघि बढोस्, हामी साथमा छौँ । मैले काम गरेको मिडियामा बाँकी तलब पूरै पाएको छु । केही साथीहरूको बाँकी रकम जन्मदेव जैसीको दबाबमा छिट्टै भुक्तानी हुने आशा छ ।”

पतञ्जली टेलिभिजनका सुमन भट्टराईले श्रमिकको पक्षमा जन्मदेव जैसीले पुर्‍याएको योगदानलाई उच्च मूल्यांकन गर्दै भने, “हामी चार जना श्रमजीवीलाई न्याय दिलाउनुभएकोमा धन्यवाद ! यो संघर्ष श्रमिकहरूको हक सुनिश्चित गर्न महत्वपूर्ण कदम हो ।”

यद्यपि तीन वटै टेलिभिजनमा बाँकी बक्यौताको मुद्दा पूर्ण रूपमा समाधान भएको छैन । श्रमजीवीका नेता जन्मदेव जैसीले अबको संघर्ष अझ बलियो रूपमा अघि बढाउने बताए ।

यो उपलब्धि श्रमजीवी सञ्चारकर्मीका लागि प्रेरणादायक भए पनि थप सुधारका लागि सबैको निरन्तर साथ र दबाब आवश्यक भएकाे जैसी बताउँछन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट