स्वास्थ्य मन्त्रालयद्वारा गुनासो सुनुवाइ समिति गठन
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा.अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाइ समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आइतबार गरेको निर्णय अनुसार यो समिति बनाइएको हो ।
मन्त्रालयका सूचना प्रविधि निर्देशक रमेश राज सुवेदी र शाखा अधिकृत गौरी प्रसाद आचार्य समितिका सदस्य रहेका छन् भने मन्त्रालयका सूचना अधिकारी समितिको सदस्य सचिवका रूपमा रहेका छन्।
सुशासन (व्यवस्थापन र सञ्चालन) ऐन, २०६४ को दफा ३१ र सोही ऐनको नियमावली, २०६५ को नियम २० बमोजिम गठित समितिको मुख्य उद्देश्य मन्त्रालय र मातहतका निकायहरूको सेवाप्रवाहसँग सम्बन्धित गुनासोहरूको सुनुवाइ र समाधान गर्न उक्त समिति गठन भएको हो ।
समितिले मन्त्रालयबाट प्रवाह हुने सेवासम्बन्धी सेवाग्राहीका गुनासोहरू संकलन गर्ने, प्राप्त गुनासोहरूलाई सम्बन्धित महाशाखामा पेश गर्ने, मातहतका विभाग, केन्द्र, प्रयोगशाला र अस्पतालहरूबाट प्रवाह हुने सेवाका गुनासोहरूको अनुगमन गर्ने लगायतका कार्य गर्नेछ ।
प्रमुख कार्यहरूमा मन्त्रालयमा आएका गुनासोहरूलाई सम्बन्धित निकायमा पठाई त्यसको उचित सम्बोधन भए नभएको नियमित रूपमा अनुगमन गर्ने र सेवाग्राहीहरूका लागि गुनासो गर्ने सरल र सुलभ माध्यमका बारेमा सूचना प्रकाशन गर्ने जस्ता कार्य रहेका छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
प्रतिक्रिया