Techie IT
Samayabaddha
बुधबार, २ माघ, २०८१

चीनसँग ऋण सम्झौता भएकै छैन, अनावश्यक हल्ला भयो : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकासमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । त्यसपछि भएको पत्रकार सम्मेलनमा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को समझदारीमा नेपालले ऋण लिने विषय उल्लेख नभएको र चीनसँग यस्तो कुरा पनि नभएको बताएका छन् । आफूले यो भ्रमणमा ऋण सम्झौता नगरेको ओलीको भनाइ छ । आफूले पटक–पटक यो विषयमा स्पष्ट पार्दा पनि अनावश्यक हल्ला भइरहेकोमा ओलीले असन्तुष्टि पोखे ।

‘अहिले हामीले जे प्राप्त गरेका छौं । त्यो ऋण होइन भन्ने कुरा धेरैपटक भनिएको छ । अब धेरै दोहोर्‍याउन नपरोस् भन्ने मेरो आग्रह छ । ऋण होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘ऋण सम्बन्धी कुरा पनि चलेको छैन । फेरि ऋणको कुरा कहाँबाट आउँछ ? सधैं ऋण–ऋण–ऋण यो रट किन साह्रै बजिरहेको छ रु होइन भनेर हामीले पटक–पटक भनेका छौं । सञ्चार माध्यमहरूले पनि हाम्रा भनाइलाई क्यारी गरेका छन् ।’ तर प्रधानमन्त्री ओलीले ऋण सम्झौता नभएको बताए पनि बीआरआईको फ्रेमवर्कमा सहायता शब्द उल्लेख भएकाले नेपालले ऋण सम्झौता नकारेको मानिँदैन । फ्रेमवर्कको मस्यौदामा ग्रान्ट फाइनान्सिङ लेखिएको ठाउँमा एड फाइनान्सिङ राखेर हस्ताक्षर गरिएको छ । ग्रान्टको अर्थ अनुदान भन्ने हुन्छ भने एडको अर्थ सहायता भन्ने हुन्छ । त्यो अनुदान या ऋण जे पनि हुन सक्छ ।

पत्रकार सम्मेलनमा ओलीले अब भारत भ्रमणको पनि योजना बनाउने बताएका छन् । ओलीले भारतको भ्रमण कहिले हुन्छ भनेर ठ्याक्कै भन्न नसकिने तर अब व्यवस्था मिलाउनुपर्ने बताए । ‘अब भारत भ्रमणको एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा फर्किएकै दिन कसरी टुङ्ग्याउन सकिन्छ ?’ ओलीले भन्नुभयो ।

आफ्नो चीन भ्रमणलाई भारतीय सञ्चारमाध्यमले अनावश्यक बहस चलाएको ओलीको सङ्गेत छ । उनले एमाले र कांग्रेस नेतृत्वको सरकारले पूर्ण कार्यकाल सरकार चलाउने पनि बताए । अबको १७ महिनापछि आफूले सरकारको नेतृत्व कांग्रेसलाई दिने ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा गएको सोमवार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उहाँका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् । यसै अवसरमा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कसहित विभिन्न महत्त्वपूर्ण सम्झौता भएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट