नेपाल पत्रकार महासंघको निर्वाचन : यी छन् मुख्य दावेदार ?
नेपाल पत्रकार महासंघको यही मंसिर २८ गते हुने निर्वाचन नजिकिँदै जाँदा महासंघभित्र राजनीतिक ध्रुवीकरण र उम्मेदवार छनोटको गतिविधि तीव्र बनेको छ ।
यसपटक महासंघको निर्वाचनमा प्रमुख पत्रकार संगठनहरूबीचको प्रतिस्पर्धा मात्र हुँदैन, स्वतन्त्र, क्रियाशील पत्रकारहरुको दावेदारी पनि बलियो हुने देखिएको छ । यसपटक संगठनले टीका लगाएर दिएका उम्मेदवारलाई मात्र हेरेर होइन सचेत क्रियाशील पत्रकारहरुले विवेकको प्रयोग गर्ने सम्भावना बढी छ ।
प्रेस युनियन र प्रेस चौतारीले यसपटक निर्मला शर्मालाई अध्यक्षमा अघि सारेका छन् । उनी महासंघको प्रमुख पदमा बलियो दाबेदार मानिन्छिन् । अर्कोतर्फ, प्रेस सेन्टरले प्रेस युनियनसँग विद्रोह गराउँदै रमेश विष्टलाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरिरहेको छ । रमेश विष्ट साझा उम्मेदवारका रूपमा चौतारी र युनियनका विरुद्ध बलियो उम्मेदवार बन्ने सम्भावना देखिन्छ ।
वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा चौतारी र युनियनले रामप्रसाद दाहाललाई अघि सार्ने बलियो सम्भावना छ, जो अनुभवी र बलियो उम्मेदवार मानिन्छन् । प्रेस सेन्टरको तर्फबाट रोशन पुरी सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन् । श्रमजीवी पत्रकारका मुद्दामा प्रखर मानिएका क्रान्तिकारी पत्रकार जन्मदेव जैसी पनि वरिष्ठ उपाध्यक्ष वा महासचिव पदमा उम्मेदवारी दिन तयारी गरिरहेका छन् । उनले महासंघको निर्वाचनमा उल्लेखनीय प्रभाव पार्ने आँकलन गरिएको छ । संगठनबीचमा होइन, उम्मेदवारहरुबीचमा तालमेल मिलाउन सकेमा उनले यसपटक महासचिव या वरिष्ठमा जित्ने सम्भावना प्रबल छ ।
महासचिव पदमा चौतारी र युनियनका तर्फबाट राजेश मिश्र प्रमुख उम्मेदवारको रूपमा अघि बढ्ने सम्भावना छ ।
यसवाहेक पदाधिकारीमा योगेश खपांगी, प्रवीण चौधारी, अनिल मिश्र, रामकृष्ण अधिकारी, लेखनाथ न्यौपाने, दीपेन्द्र शर्मा, फणीन्द्र फुयाल, माधव पनेरु, रामकृष्ण ज्ञवाली, रमेश खतिवडा, सिर्जन झा लगायतको पनि चर्चा छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया