Techie IT
Samayabaddha
सोमबार, २२ पुस, २०८१

नेपाल पत्रकार महासंघको निर्वाचन: श्रमजीवी क्रियाशील पत्रकारको पक्षमा समर्थन तीव्र


नेपाल पत्रकार महासंघको निर्वाचन नजिकिँदै गर्दा श्रमजीवी पत्रकारहरूको पक्षमा निरन्तर आवाज उठाउँदै आएका जन्मदेव जैसी र उनको टिमप्रति व्यापक समर्थन देखिएको छ । पार्टी, भातृ संगठनका नेतृत्व र कर्पोरेट मिडियाका मालिकहरूको दबाबका बाबजुद पनि श्रमजीवी मैत्री नेतृत्व चयन गर्ने पक्षधरहरूको अभियान सशक्त बन्दै गएको छ ।

लामो समय पत्रकारिताको अनुभव संगालेका पत्रकार नाम्गेल मोक्तानले श्रमजीवी पत्रकारको मुद्दालाई प्राथमिकतामा राख्ने नेतृत्व आवश्यक रहेको बताउँदै जन्मदेव जैसीसहितको टिम उपयुक्त विकल्पको रूपमा अघि सारेका छन् । उनले भने, ‘महासंघको नेतृत्वले भुइँ तहका पत्रकारहरूको वास्तविक समस्या सम्बोधन गर्न सक्नुपर्छ । जन्मदेव जैसीसँगै रहेका अनुभव र संघर्षशील व्यक्तित्वले मात्र यो सम्भव छ।’

त्यस्तै क्रियाशील पत्रकार डी.आर. आचार्यले पनि श्रमजीवी पत्रकारहरूको हकहित सुनिश्चित गर्न जैसीको जित आवश्यक रहेको उल्लेख गरेका छन् । उनले सबै पत्रकारलाई श्रमजीवी पत्रकारहरूको पक्षमा सोचेर मतदान गर्न आह्वान गर्दै भने, ‘जय जन्मदेव !’

सक्रिय युवा पत्रकार ऋतु विचारले भुइँ तहका पत्रकारहरूको प्रतिनिधित्व गर्दै आएका जैसीलाई महासचिव पदमा जिताउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘टाई-सुटवालालाई भोट नदिनुस् । श्रमजीवीहरूको आवाज उठाउने नेता जन्मदेव जैशी हुन् ।’

पत्रकार ध्रुव रिजालले पनि महासंघको निर्वाचनलाई पार्टी स्वार्थभन्दा माथि राखेर श्रमजीवी पत्रकारको पक्षमा मतदान गर्नुपर्ने बताए । उनले स्पष्ट रूपमा भने, ‘जन्मदेव जैसीजस्ता पत्रकारका नेताहरूले मात्रै समस्यामा परेका पत्रकारहरूको पक्षमा उभिने साहस देखाउँछन् ।’

महासंघको यो निर्वाचन श्रमजीवी पत्रकारहरूको भविष्यलाई प्रभावित गर्ने महत्त्वपूर्ण क्षण भएको विश्लेषण गरिँदैछ । जन्मदेव जैसीसहितको टिमको नेतृत्वले कर्पोरेट दबाब र पार्टी स्वार्थमुक्त रहँदै श्रमजीवी पत्रकारहरूको हकहितमा काम गर्ने विश्वास समर्थकहरूले व्यक्त गरेका छन् ।

चुनाव नजिकिएसँगै श्रमजीवी पत्रकारहरूको अधिकारको सुनिश्चितताका लागि सकारात्मक लहर सिर्जना भएको देखिन्छ । भोट हाल्ने बेला पत्रकारहरूले व्यक्तिगत स्वार्थ र दबाबभन्दा माथि उठेर श्रमजीवी मैत्री नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ ।

नेपाल पत्रकार महासंघको निर्वाचन श्रमजीवी पत्रकारहरूको भविष्य निर्माणमा महत्वपूर्ण साबित हुने देखिन्छ । जन्मदेव जैसी र उनको टिमलाई समर्थन गर्दै उठेको जनलहरले महासंघको नयाँ नेतृत्वलाई श्रमजीवी पत्रकारहरूको आवाज बनाउन सक्षम तुल्याउने विश्वास गरिएको छ ।

जन्मदेव जैशीको टिममा अध्यक्ष देवीप्रसाद सापकोटा, एसोसियट सचिवमा योगेश खपांगी, मधेसी सचिवमा प्रवीण चौधरी, आदिवासी जनजाति सचिवमा टीकाराम प्रधान, खुल्ला सचिवमा कुमार ओझा, दलित सचिवमा सन्तोष बराइली, खुल्ला केन्द्रीय सदस्यमा फडिन्द्र फुयाल, गण्डकी केन्द्रीय सदस्यमा उज्ज्वल पौडेलसहित छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट