तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्दा उडान प्रभावित
काठमाडौं । तराई क्षेत्रमा बाक्लो हुस्सुले आज उडान प्रभावित भएको छ । बाक्लो हुस्सु लागेका कारण विराटनगर विमानस्थलमा अहिलेसम्म उडान अवतरण हुन सकेको छैन भने जनकपुर विमानस्थल दिउँसो साढे तीन बजेदेखि खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तराई क्षेत्रका केही विमानस्थलको उडान नै स्थगित गर्नुपरेको छ भने अरू भद्रपुर, भरतपुर, पोखरा भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल दिउँसोपछि मात्र खुलेका हुन् । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थलमा हिजो पनि कुनै उडान भएनन् ।
बाक्लो हुस्सुले भिजिबिलिटी कमजोर हुँदा तराई क्षेत्रका विमानस्थलमा उडान प्रभावित भएको प्रवक्ता शेर्पाले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अरू आन्तरिक र बाह्य उडान अवतरण भने नियमित रूपमा सञ्चालन भइरहेका छन् ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया