Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

४ महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स


काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा पाँच खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको चार महिनाको तुलनामा रेमिट्यान्स ९ दशमलव १ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यस्तै अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ ।

चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ४७ हजार चार सय ७८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ९४ हजार एक सय पाँच जना रहेको छ ।

गएको वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३७ हजार चार सय ७५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ६८ हजार आठ सय ४१ जना रहेको थियो ।

यसैबीच कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि पाँच दशमलव ६० प्रतिशत रहेको छ । अघिल्लो वर्ष कात्तिकमा यस्तो मुद्रास्फीति पाँच दशमलव ३८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति नौ दशमलव १० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ६५ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ९८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको चार दशमलव ९९ प्रतिशत रहेको थियो ।

यस्तै चार महिनामा देशको विदेशी मुद्रा सञ्चिति साढे १० प्रतिशतले बढेर २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गएको असार मसान्तमा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट