नेपाल पत्रकार महासंघको निर्वाचन आज, रोचक प्रतिस्पर्धा
नेपाल पत्रकार महासंघको निर्वाचन आज हुँदैछ । महासंघको यो महत्वपूर्ण निर्वाचनको परिणाम राति अवेरसम्म आउने अपेक्षा गरिएको छ । निर्वाचनमा प्रमुख राजनीतिक दलहरूसँग सम्बद्ध पत्रकार संगठनहरूले गठबन्धन गरेका छन् भने गैर–राजनीतिक धारलाई समर्थन गर्ने श्रमजीवी पत्रकारहरूको साझा मोर्चाले पनि चुनौती दिएको छ ।
गठबन्धनहरूको प्रतिस्पर्धा
नेपाली कांग्रेस निकट प्रेस युनियन र एमाले निकट प्रेस चौतारीको गठबन्धनलाई सबैभन्दा बलियो मानिएको छ । पाँच हजार मतदाता रहेको यो गठबन्धनको मत खस्ने हो भने अरुको प्रतिस्पर्धा हुँदैन ।
माओवादी निकट प्रेस सेण्टर र साना पार्टीहरूको गठबन्धन भने संख्याको हिसावले कमजोर छ । दुई हजार मतदातासँगै प्रेस सेण्टरले केही जिल्लामा प्रभाव जमाएको भए पनि देशव्यापी सन्दर्भमा यो गठबन्धनलाई अहिले निकै कठिन अवस्था छ ।
अध्यक्ष पदमा रोचक प्रतिस्पर्धा
अध्यक्ष पदका लागि प्रेस सेण्टरले समर्थन गरेको प्रेस युनियनका विद्रोही रमेश बिष्ट, प्रेस चौतारी र युनियनको संयुक्त उम्मेदवार निर्मला शर्मा तथा साझा क्रियाशील श्रमजीवी पत्रकार मोर्चाका देवी सापकोटा मुख्य प्रतिस्पर्धी रहेका छन् । निर्मला शर्मा गठबन्धनको हिसावले बलियो देखिए पनि पार्टी सिण्डिकेटलाई तोड्ने भन्दै विकल्प खोजेकाले देवी सापकोटाको पनि उल्लेखनीय मत आउने देखिन्छ । तर, अहिलेसम्म मुख्य प्रतिस्पर्धा बिष्ट र शर्माकै बीचमा बढी देखिन्छ । सापकोटाले राम्रैसँग चुनौती दिएका छन् ।
महासचिव पदमा कडा टक्कर
महासचिव पदमा रामप्रसाद दाहाल र जन्मदेव जैसीबीच कडा प्रतिस्पर्धा हुनेछ । जन्मदेव जैशीले क्रियाशील श्रमजीवी पत्रकारहरूको तर्फबाट उम्मेदवारी दिएका छन् । उनी विगतदेखि निरन्तर सामाजिक सुरक्षा, पत्रकारहरुको न्यूनतम ज्याला र श्रमजीवी पत्रकारहरूको हकहितको मुद्दा उठाएर मतदाताहरूमा निकै लोकप्रिय बनेका छन् ।
जैसीले स्वतन्त्र र सबै पक्षका मतदाताहरूको ठूलो समर्थन पाउने अनुमान छ । प्रेस सेण्टरले मत दिंदा जित्ने निश्चित भएका कारण उनलाई मत दिनुपर्छ भन्दै विनोद पहाडी, नाम्गेल मोक्तानसहित थुप्रै अग्रज, क्रियाशील पत्रकारहरुले सक्रियता बढाएका छन् । १८ सय मत संख्या रहेको प्रेस सेण्टरको मत एक हजार कटाए पनि जन्मदेवले जित्ने निश्चित रहेको आँकलन गरिएको छ ।
अन्य पदमा उम्मेदवारहरूको अवस्था
वरिष्ठ उपाध्यक्ष पदमा रोशन पुरी बलियो उम्मेदवार देखिएका छन् । कोषाध्यक्षमा रामकृष्ण अधिकारीलाई विजयी हुने सम्भावना छ । एसोसियट सचिव योगेश खपांगी, मधेसी सचिव प्रवीण चौधरी, आदिवासी जनजाति टीकाराम प्रधान, दलित सचिव सन्तोष बराइलीको पक्षमा लहर देखिएको छ । खुल्ला केन्द्रीय सदस्यमा फडिन्द्र फुयाल, दामोदर खनाल बलियो उम्मेदवार हुन । उनीहरुलाई जिताउनु पर्छ भनेर सबै पक्षबाट चर्चा चलेको छ ।
पार्टी राजनीतिबाट माथि उठ्ने प्रयास
महासंघको यो निर्वाचनमा पत्रकारिता पेशालाई पार्टी राजनीतिबाट माथि राखेर श्रमजीवी पत्रकारहरूको मुद्दालाई केन्द्रमा राख्ने साझा मोर्चाको अभियानले नयाँ तरंग सिर्जना गरेको छ । पार्टी र संगठनहरूको सिण्डिकेटबाट आजित पत्रकारहरूले विकल्प खोजिरहेको यस अवस्थामा श्रमजीवी पत्रकारहरूको मोर्चाले नयाँ ऊर्जा प्रदान गरेको छ ।
निर्वाचनको परिणामले महासंघको भविष्यको दिशा निर्धारण गर्नेछ । आज रातिसम्म आउने परिणामले नेतृत्वको प्राथमिकता र पत्रकारिताको मार्गचित्र के हुने हो, त्यो स्पष्ट हुनेछ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया