गौतमबुद्ध विमानस्थलमा भू–उपग्रहमा आधारित ‘आरएनपी एआर’ प्रणाली जडान हुने
काठमाडौं । भिजिबिलिटीको समस्या भोगिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने भएको छ । आईएलएस प्रणाली जडान गर्न भारतले अनुमति नदिएपछि नागरिक उड्डयन प्राधिकरणले आरएनपी एआर प्रणाली जडान गर्न लागेको हो ।
विश्वका धेरै देशका विमानस्थलहरुमा र वायुसेवामा प्रयोग भइसकेको यो प्रणाली भू–उपग्रहमा आधारित हुन्छ । उपकरणमा आधारित उडान अवतरण प्रणाली (आईएलएस) प्रविधिको विकल्पमा आरएनपी–एआर भनेर चिनिने प्रविधि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आउँदो माघ १० गतेदेखि आरएनपी–एआर प्रणाली सुरू हुने बताए । आरएनपी–एआर प्रणालीको सहायताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा न्यूनतम आठ सय मिटरको भिजिबिलिटीमा पनि जहाजहरु सहजरुपमा उडान र अवतरण हुनसक्ने उनको भनाइ छ ।
भू–उपग्रहमा आधारित हुने यो प्रणालीले भिजिबिलिटीको कारणले उडान र अवतरणमा आइरहने अवरोध हटाउने उनले बताए ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको आरएनपी–एआर प्रणालीले ११ सय मिटरको न्यूनतम भिजिबिलिटिमा काम गर्छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आठ सय मिटरको भिजिबिलिटिमा काम गर्ने महानिर्देशक अधिकारीले बताए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया