Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

अख्तियारका अनुसन्धान अधिकृतलाई घुस दिन खोज्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ


काठमाडौं । मुद्दा मिलाइदिन भन्दै अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछापको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् अहिले नुवाकोटको किस्पाङ गाउँपालिकामा त्यही पदमा कार्यरत ध्रुवप्रसाद सापकोटा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सापकोटासँग जोडिएको एउटा मुद्दामा अनुसन्धान गरिरहेको थियो । मेल्लेख गाउँपालिकाको मेशिनरी सामान खरिदसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा स्थलगत मुचुल्का र आरोपीको बयानसमेत भइसकेको छ ।

अनुसन्धानका क्रममा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम सापकोटाले बुझाउन खोजेका थिए । अनुसन्धान अधिकृतले आफैंले खाम खोल्न आग्रह गरेका थिए ।

सापकोटाले बोकेको हरियो रङ्गको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात र अर्को खामभित्र एक हजार दरको ९६ वटा र पाँच सय दरको आठ थान गरी एक लाख रुपैयाँ रकम रहेको आयोगले जनाएको छ । अनुसन्धान अधिकृतले यो केको पैसा हो भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वेच्छाले ल्याएको बताएका थिए ।

सापकोटाले आयोगका अनुसन्धान अधिकृतलाई घुस दिने उद्देश्यले ल्याएको रकमसहित पक्राउ गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आयोगको कञ्चनपुर कार्यालयबाट प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित पक्राउ परेका हुन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट