Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

२७ वर्षदेखि बन्द रहेको कैलालीको टीकापुर विमानस्थलमा आजदेखि उडान सुरु


कैलाली । २७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थलमा आजदेखि उडान सुरु भएको छ । आज दिउँसो तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा उडान सुरु भएको हो ।

२०४१ साल असोज २५ गतेदेखि सञ्चालनमा आएको विमानस्थल द्वन्द्व शुरु भएसँगै २०५३ साल माघदेखि बन्द हुन पुगेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । पहिलो उडानमार्फत टीकापुर पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले स्वागत गरेका थिए ।

विमान अवतरणका क्रममा सयौँको सङ्ख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए । राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी काठमाण्डौ–टीकापुर सिधा हवाई उडान नियमित सञ्चालन गरिने बताएका छन् ।

टीकापुर नगरपालिकाको विशेष पहलमा काठमाडौंदेखि नेपालगञ्जसम्म यति एयरलाइन्समार्फत र नेपालगञ्जबाट ‘कनेक्टिङ फ्लाइट’मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका मेयर डगौराले जानकारी दिए । यो विमानस्थलमा हरेक हप्ताको आइतवार र बिहीवार काठमाडौं–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौं उडान हुनेछ ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौंबाट बिहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो साढे १२ बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । त्यसै दिन दिउँसो एब बजेर २० मिनेटमा तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो दुई बजेर ५ मिनेटमा यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौं अवतरण हुने तालिका छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट