झापामा बिना खनजोत मकैखेती
झापा । झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । किसानलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत तीन ठाउँमा बिना खनजोत अर्थात शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो ।
बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०र१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।
कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्रले प्रदर्शनीका रुपमा बिना खनजोत मकैखेती प्रविधि प्रदर्शनी गरिएको उनले बताए ।
यस प्रविधिको प्रयोगबाट उत्पादन लागत घट्नुका साथै नयाँ प्रविधि विस्तार र माटोको गुणस्तर सुधार हुने उनको भनाइ छ ।
यस प्रविधिबाट धान काटेको खेतमा खनजोत नगरी उपकरणको प्रयोगबाट एकै पटक मकैको बीउ र मल हाल्न सकिन्छ ।
मकैको एउटा लाइनबाट अर्को लाइनको दूरी ४५ सेन्टिमिटर र बोटको दूरी १५ देखि २० सेन्टिमिटर हुन्छ । हाल गरिएको नमूना खेतीमा डीएपी मल र बीउ एकै पटक राखिएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया