Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

पत्रकार महासंघमा विजेता पत्रकार यसरी स्वतन्त्र हुन सक्लान ?


काठमाडौं । देशको चौथो अंङ्गको रुपमा हेरिएको पत्रकार महासंघको भर्खर सम्पन्न निर्वाचनमा विजेता पत्रकारहरुलाई राजनीतिक दलहरुले खादा अविर लगाइरहेका छन् । आज विहान प्रेस सेन्टरले महासंघको निम्ति केन्द्र, प्रदेश र जिल्लाको निर्वाचनमा विजय भएका पत्रकारलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बोलाएर खादा र अविरले सम्मान गरेको सार्वजनिक गरिएको छ। सम्मान कार्यक्रममा उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटा,उपाध्यक्ष पम्फा भुषाल, सचिव लीलामणी पोखरेल,पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्य, प्रेस सेन्टरका संयोजक विष्णुसापकोटा ‘जुगल’ लगायतले खादा ओढाएर बधाई तथा शुभकामना दिएको तस्बिर प्रेस सेन्टरले सार्वजनिक गरेको छ ।

मानौं कि यस्तो लाग्छ, विजेता पत्रकारहरुको भूमिका पत्रकार महासंघमा दलले निर्धारण गर्ने हो । त्यतिमात्र होइन पत्रकार महासंघमा आन्तरिक एकतालाई मजवुत बनाउन नसकेका असक्षम प्रेस सेन्टरका नेताहरुलाई महासंघको निर्वाचनमा प्रेस सेन्टरका साथीहरुलाई जिताउन अहमं भूमिका खेलेको भन्दै खुमलटारमा तिनलाई समेत खादा र माला लगाइएको छ । पत्रकार संगठनका नेतृत्वहरुको यस्तो हर्कत देख्दा बौद्धिक वर्गहरु लजाएको देखिन्छ ।

महासंघमा निर्वाचित पत्रकारहरुले हिजो पत्रकारिता गर्दा गर्दै शहीद भएका पत्रकारहरुलाई माल्याअर्पण गरेर महासंघको कार्यभार सम्हालेको भए सोभनिय देखिन्थ्यो भन्ने कोणबाट पनि बहसहरु भइरहेका छन् ।

अर्काेतिर सरकारी पत्रिका गोरखापत्रमा “महासंघको चुनावले सरकारलाई मद्दत” भन्ने शिर्षकमा समाचार छापिएको छ । पुष ३ गते सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले वर्तमान गठबन्धनको लक्ष्य प्राप्तीको मार्गलाई जनताको बीचमा लैजान पत्रकार महासंघको निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । समाचारमा लेखिएको छ “सुदुर पश्चिमका प्रदेश समितिका नवनिर्वाचित पत्रकार पदाधिकारी तथा सदस्यको पदस्थापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले पत्रकार महासंघको निर्वाचनले वर्तमान गठबन्धनलाई टिकाउन मार्ग दिएको बताएका छन् ।”

मानौं कि राजनीतिक दलहरुले पत्रकार महासंघ सरकारको वाचडगको भूमिका रहेको चौथो अङ्ग हो भन्ने कुरालाई पुरै विर्सेका छन् । राजनीतिक दलले पत्रकार महासंघलाई आफ्नो भातृसंगठन जसरी सोंच्ने सोंचाइ गलत रहेको छ । यसरी दलहरुको हातबाट टिका लगाएर पदभार गरेका पत्रकारहरुले कस्तो भूमिका खेल्लान् सबैमा आशंका पैदा भएको छ ।

सत्ता पक्षका दलहरु तथा तिनका भातृ संगठनहरुले गरेको गल्तीलाई खबरदारी गर्ने काम प्रेस सेन्टरको हुनुपर्ने हो । र, त्यस्तै सत्ताको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले पनि महासंघको स्वतन्त्र भूमिकालाई सत्ता गठबन्धनले खुम्च्याउन खोजेकोप्रति खबरदारी गर्नुपर्ने हो । तर विजेतालाई खुमलटारमा बोलाएर खादा र अविर पहि¥याउनुले प्रेस सेन्टर र माओवादी केन्द्रका नेतृत्वले त्यो नैतिक अधिकारलाई गुमाएको चर्चा पत्रकारहरु बीच चल्न थालेको छ ।

मंसिर २८ गते सम्पन्न पत्रकार महासंघको निर्वाचनमा सत्ताधारी नेपाली कांग्रेसको प्रेस युनियन र एमाले सम्वद्ध प्रेस चौतारीबीच देशभर गठबन्धन भएको थियो । त्यस्तै माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर र माधव नेपाल निकट पत्रकारहरु बीच गठबन्धन भएको थियो ।

 


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट