हरिहरपुरगढी गाउँपालिकाका अध्यक्षलाई वन कार्यालयले कार्वाही अगाडि बढाउँदै
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ स्थित रागेखोलादेखि रागेचौरसम्मको जंगल, मानव बस्ती रहित क्षेत्रमा हजारौं सालका रुख कटानी गरी नयाँ सडक निर्माण गरिएको छ । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको नेतृत्वको यो कार्यले वन विनास र सार्वजनिक सम्पत्तिको दुरुपयोगको गरेको छ ।
पहिल्यै सञ्चालनमा रहेको वैकल्पिक व्यवस्थित सडक हुँदाहुँदै मानव वस्ती नभएको ठाउँमा नयाँ सडक निर्माण गर्नुको औचित्य स्थानीयहरूले प्रश्न गरेका छन् । उपभोक्ता समिति गठन नगरी र वातावरणीय प्रभाव मूल्यांकनविना गरिएको सडक निर्माणले आर्थिक अनियमितताका साथै वातावरणीय सन्तुलन समेत बिग्रिएको स्थानीयको भनाइ छ ।
वन डिभिजन कार्यालयका प्रमुख अजयविक्रम मानन्धरका अनुसार स्थानीयवासीले उजुरी गरेपछि स्थलगत अध्ययनका लागि टोली खटाइएको थियो । “सडक निर्माणको नाममा नियम विपरीत सालका रुख कटानी गरिएको छ । यसबारे कानुनी कारबाही प्रक्रिया सुरु हुनेछ,” उनले भने ।
साेही गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङले अध्यक्ष वाइबाले निर्णयहरू एकलौटी रूपमा लिँदै आफूलाई समेत उपेक्षा गरेको बताए । “गाउँपालिका अध्यक्षले मनोमानी ढंगले यो कार्य गरेका हुन्,” थिङले भने ।
निर्वाचन खर्च असुलीका लागि वन विनास ?
राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालका अत्यन्त निकट बज्रध्वज वाइबाले स्थानीय तहको निर्वाचनका क्रममा तीन करोड खर्च गरेको र उक्त रकम उठाउनु पर्ने भन्दै आफूले यस्ता कदम चालेको आफ्ना निकटका व्यक्तिलाई बताउँदै आएका छन् । “निर्वाचन खर्चकै कारण यो काम गर्नु परेको हो,” भन्ने वाइवाको भनाइले भ्रष्टाचारको गम्भीर आशंका उत्पन्न गरेको छ । उनले उम्मेदवार बन्नका लागि `माथि´ बुझाउन र बनिसकेपछि जित्नका लागि सिन्धुलीका सबै उम्मेदवारभन्दा बढी खर्च गरेका थिए ।
उनको पछिल्लो कदमले सर्लाहीको विवादास्पद मेयर भरत थापाको शैली झल्काउने स्थानीयहरूले बताएका छन् । थापाले `भरत ताल´ निर्माणका क्रममा करौडौं रुपियाँको बालुवा गिट्टीको अवैध कारोबार गरेका थिए । यस्तै गतिविधिका कारण अहिले निलम्बनमा परेका छन्प । वाइबाकाे पनि सडक निर्माणका नाममा ठूलो पैमानामा सालको रुख काटेर बेच्ने योजना बनाएका छन् ।
यसैबीच, नेकपा एमालेका गाउँपालिका अध्यक्ष मानबहादुर वाइवाले भने, “डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन बिना आर्थिक लाभका लागि गरिएका योजनाहरूले समस्या सिर्जना गरेको छ ।”
वन र सार्वजनिक स्रोतको विनास नियन्त्रणका लागि सरोकारवाला निकाय र स्थानीयहरूले तत्काल कदम चाल्नुपर्ने दबाब दिएका छन् । अध्यक्ष वाइबाले हाल काम रोकिएको बताएका छन्, तर यो घटनाले उनका गतिविधिहरूमा पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
यहाँ स्मरणीय छ, सामाजिक सञ्जालमा वाइवाको एक अडियो भाइरल भएको थियो, जसमा उनले प्रेस सेण्टरको बागमती प्रदेशको वैठकमा तत्काल एक लाख दिने र संगठनलाई देशकै ‘एक नम्बर’ बनाउन तीन वर्षे योजना ल्याउने बताएका थिए । यो विषयले प्रेस सेण्टरको नेतृत्व र वाइवाबीचको आर्थिक लेनदेन र राजनीतिक स्वार्थप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको थियो ।
यस कार्यक्रमकाे प्रमुख अतिथि प्रेस सेण्टरका अध्यक्ष विष्णु सापकोटा `जुगल´ कि सिन्धुलीका दुई नम्बरका संघीय सांसद राजन दाहाल भनेर सार्वजनिक रुपमा वक्तव्यवाजी भएको थियो । माओवादी केन्द्रकाे सिन्धुली जिल्ला पार्टीमात्र होइन हरिहरपुरगढी गाउँपालिकाले समेत यो वैठक वहिस्कार गरेको थियो । जिल्लामा त्यति ठूलो विवादित रहेको यो वैठकलाई बागमती प्रदेशका इञ्चार्ज तथा प्रेस सेण्टरका पनि इञ्चार्ज अग्नि सापकोटाले समर्थन मात्रै होइन, संरक्षण गरेका थिए ।
बज्रध्वज त्यो ब्यक्ति हुन, जो वैदेशिक रोजगारीमा गएका भुइँमान्छेको श्रीमती र सम्पत्ति उडाएर बिचल्ली बनाएका छन् । यसबारे पार्टीले छानबिन गर्न समिति बनाए पनि माथिको राजनीतिक दवावका कारण रोकिएको छ ।
माओवादी केन्द्रका नेतामाथि गम्भीर आरोप : अनुशासन समितिको ढिलासुस्ती
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया