हात्तीको आक्रमणबाट मोरङमा एक महिलाको मृत्यु
उर्लाबारी, ५ पुस । मोरङको सुन्दरहरैँचा –७ का ४० वर्षीय गङ्गामाया मगर (श्रेष्ठ) को हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सुन्दरहरैँचा –७ का वडाध्यक्ष भुवन आलेमगरका अनुसार शुक्रबार बिहान स्थानीय सिर्जना सामुदायिक वनको नर्सरीवारीमा घाँस दाउराका लागि गएकी गङ्गामायालाई हात्तीले आक्रमण गरेको हो ।
श्रेष्ठलाई सँगै गएका साथीहरूले उद्धार गरी पूर्वाञ्चल विश्व विद्यालय छेउमा ल्याएर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले विश्वविद्यालय परिसरबाटै उद्धार गरी नोवेल अस्पताल विराटनगर पठाएको थियो । गङ्गामायाको उपचारका क्रममा नोवेल अस्पतालमा मृत्यु भएको वडाध्यक्ष मगरले बताए। वडाध्यक्ष मगरले गङ्गामायाको शरीरमा कुनै चोटपटक नदेखिएको जानकारी दिए ।
मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता वेदप्रकाश जोशीले घटनाको पुष्टि गर्दै गङ्गामायाको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको बताए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया