रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा मिनि ट्रक दुर्घटना
रुकुमपश्चिम, १० पुस । राप्ती राजमार्गअन्तर्गत रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –६ गणेशमोडनजिक काप्रोपानीमा मालबाहक मिनि ट्रक दुर्घटना भएको छ । ट्रक दुर्घटनामा परेर दुई जना घाइते भएका छन् ।
दाङको तुल्सीपुरबाट रुकुमपश्चिमको मुसीकोट नगरपालिका –४ सोलाबाङतर्फ आउँदै गरेको लु २ ख ४१६४ नम्बरको ट्रक बुधबार बिहान काप्रोपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले दुर्घटनामा परेर ट्रकचालक र सहचालक घाइते भएको जानकारी दिए ।
घाइते हुनेमा सल्यानको त्रिवेणी गाउँपालिका –६ लुहामका २८ बर्षीय चालक जनक केसी र रोल्पाको गंगादेव गाउँपालिका –३ का २६ वर्षीय सहचालक डिल्ली ओली रहेको प्रहरीले जनाएको छ । घाइते चालकको अवस्था गम्भीर रहेको छ ।
चालक केसीलाई त्रिवेणी गाउँपालिका अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको छ । चालकको टाउकोमा गम्भीर चोट लागेको छ । सहचालक ओलीको ढाड र खुट्टामा चोट लागेको छ ।
ओरालो सडकमा तीब्र गति रहेको ट्रकको इस्टेरिङ फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रक सडकबाट करिब १५० मिटर तल खसेको छ । ट्रकमा चालक र सहचालक मात्र रहेका थिए । ट्रक दुर्घटना हुँदा लाखौ मूल्य बराबरको सामानमा क्षति पुगेको छ ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया