Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

मान्छे खुवाएर बाघ पाल्न सकिन्न, कसैलाई उपहार दिऔँ : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन् । काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताए ।

उनले नेपालको वनको क्षमताअनुसार एक सय ५० वटाभन्दा धेरै बाघ पाल्न नसकिने भए पनि अहिले नेपालमा तीन सय वटाभन्दा धेरै बाघ रहेको बताए । अरूले भनेअनुसार बाघको सङ्ख्या अब बढाउन नसकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । नेपालले मित्र राष्ट्रहरुलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने बताए ।

उनले भने, ‘अहिले साढे तीन सयभन्दा बढी बाघ छन् । जङ्गलमा मात्रै होइन, गाउँमा हिँड्दा पनि बाघ छ की भनेर हिँड्नुपर्छ । हामीले पनि चाहिने खालका काम गर्नुपर्छ । बाघ साढे तीन सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ । डेढ सय बाघ भए पुग्छ । उपहार दिऔँ, हाम्रा मित्रहरुलाई ।’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपाललाई ३० प्रतिशत मात्रै जङ्गल भए पुग्ने उल्लेख गर्दै नेपालले गरेका कामको सही मूल्याङ्कन र सम्मान हुन नसके नेपालले अरू देशका लागि जङ्गलको संरक्षण गर्न नसक्ने बताए । उनले नेपाललाई ४७ प्रतिशत जङ्गल राखेको सम्मान र कदर नगरेमा ३० प्रतिशत मात्रै जङ्गल राख्ने र बाँकी भू–भागमा अन्न उब्जाएर खाने बताए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट