Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

परिणाम बदल्न विद्यार्थी प्रतिनिधि एक सय थपिए


असोज १५ गते स्थगित भएको अखिल क्रान्तिकारीको तेईसौं राष्ट्रिय सम्मेलन अन्ततः पौष १३ गते हुने भएको छ । सम्मेलन स्थगित हुनुको कारण उमेर हद लाउने कि नलाउने भन्ने मुख्य विवाद रहेको थियो । यसपटक मतदानमार्फत यस विषयमा निर्णय लिने तयारी गरिएको छ ।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्रीका छोरा तथा विद्यार्थी नेता तुकमान महराको नेतृत्वमा सम्मेलन हलमा खुकुरी प्रदर्शनपछि सम्मेलन स्थगित गरिएको थियो । तुकमान उमेर हद नलगाउने पक्षमा छन् । विद्यार्थी राजनीतिका नाममा वर्षौँदेखि सक्रिय रहेका तुकमानसहित आधा दर्जन जति नेताहरु उमेर हदको विपक्षमा रहेकाले विवाद झन् चर्किएको हो ।

२३ सय २३ जना प्रतिनिधिको सहभागिता हुने भनिएको सम्मेलनमा निर्वाचन समितिले हालै २४ सय पाँच जनाको नामावली प्रकाशन गरेको छ । यसले निर्वाचन प्रक्रियामा समेत प्रश्न उठाएको छ । जिल्ला तहमा मतदान गरेर प्राप्त परिणामलाई केन्द्रमा पठाएर सार्वजनिक गर्ने प्रक्रिया तय गरिएको छ ।

पार्टीका नेता शक्ति बस्नेतलाई अगाडि सारेर उमेर हद नलगाउने पक्षमा रहेका समूहले आफ्नो पक्षमा निर्णय गराउने प्रयास गरिरहेको आरोप लगाइएको छ । शक्ति बस्नेतका भतिज मुक्ति बस्नेतले तुकमान महराको समूहलाई सघाइरहेका छन् । उमेर हद नाघिसकेका उनी आफैं पनि विद्यार्थी संगठनमा अझै बसेर तर मार्ने योजनामा रहेको विद्यार्थीहरु बताउँछन् ।

उमेर हद नलगाउने पक्षधरका दीपेश पुन, जो अध्यक्षका प्रत्यासी पनि हुन्, सहकारी ठगी प्रकरणमा परेपछि श्रीमतीसहित फरार छन् । यस घटनाले उमेर हदको विपक्षमा रहेका समूहप्रति विद्यार्थीहरुको विश्वास थप घटाएको देखिन्छ ।

वर्षौँदेखि विद्यार्थी राजनीतिमा तर मारेर बसेकाहरूमाथि तुषारापात गर्ने तयारी अधिकांश विद्यार्थीहरुले गरिरहेका छन् । उमेर हद लागू गर्नुपर्ने पक्षधरको संख्या बढ्दै गएकाले मतदानले यस विषयमा ठोस निर्णय दिने अपेक्षा गरिएको छ ।

पौष १३ गते हुने मतदानले अखिल क्रान्तिकारीको भविष्य र विद्यार्थी राजनीतिमा अनुशासनको मापन गर्नेछ । उमेर हद लागू गर्ने कि नगर्ने भन्ने विवादमा देखिएका स्वार्थ र शक्तिको खेलले नयाँ नेतृत्व चयनलाई समेत प्रभावित गर्नसक्छ ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट