Techie IT
Samayabaddha
आईतबार, १४ पुस, २०८१

अखिल क्रान्तिकारीको उमेर हद विवाद : मतपरिणाम रोकिदा विवाद चुलियो


अखिल क्रान्तिकारीमा उमेर हद ३२ वर्ष लगाउने कि खुला छाड्ने भन्ने विवादले तीव्रता पाएको छ । विवाद मतदानको परिणामलाई लिएर उत्पन्न भएको हो । जहाँ उमेर हद लगाउने पक्षले अग्रता देखाएपछि मतगणना राति १२ बजे रोकिएको छ ।

मतगणनाको क्रममा उमेर हद पक्षले ३३ मतको अग्रता कायम राखेपछि विवाद झन् चुलिएको हो । उमेर हद लगाउने पक्षले मतगणनाको पारदर्शितामाथि विश्वास प्रकट गरे पनि उमेर खुला छाड्नुपर्ने पक्षले विभिन्न स्थानमा पुनः मतदानको माग गरेको छ ।

दुवै पक्षले जिल्ला जिल्लामा स्वीकारेर आएको मत परिणाम

लुम्बिनी प्रदेशका धेरै मतदान केन्द्रमा उमेर खुला छाड्नुपर्ने पक्षले धाँधली गरेको आरोप लागेको छ । उमेर हद पक्षका विद्यार्थी नेताहरूले लुम्बिनीमा पार्टी संस्थापन पक्षबाट खुला पक्षको पक्षमा मत बढाइएको दाबी गरेका छन् । यस्तै, गुल्मी र वैतडीमा उमेर हद पक्षले बढी मत पाएपछि पुनः मतदानको माग उठाइएको थियो ।

डोल्पा र दैलेखसम्म यो विवाद फैलिएको छ । उमेर हद पक्षले लुम्बिनीमा आएको परिणाम स्वीकार गरे पनि उमेर खुला पक्षले चार स्थानका परिणाम खारेज गर्न वा पुनः मतदान गराउन दबाब दिएको छ । जिल्लाबाट स्वीकारेका मत परिणामलाई उल्ट्याउन पछि काठमाडौंबाट विवाद सिर्जना गरिएको छ ।

माओवादी केन्द्रका नेता शक्ति बस्नेतलाई यो प्रक्रियाको नेतृत्व गर्न पार्टी हेडक्वार्टरले जिम्मेवारी दिएको छ । तर, उनले खुलेर उमेर खुला पक्षको समर्थन गरिरहेको आरोप उमेर हद पक्षले लगाएको छ । बस्नेतमाथि प्रक्रिया प्रभावित गर्ने प्रयास गरेको भन्दै असन्तोष व्यक्त गरिएको छ ।

अखिल क्रान्तिकारीमा उमेर हदको विवादले संगठनभित्रको वैचारिक र व्यवस्थापकीय चुनौतीलाई उजागर गरेको छ । मत परिणाम सार्वजनिक नगरी विवाद चुलिँदै गर्दा नेतृत्व र पारदर्शिताको प्रश्नले संगठनलाई अझ जटिलतामा पार्न सक्छ ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट