Techie IT
Samayabaddha
बुधबार, १७ पुस, २०८१

दक्षिण कोरिया विमान दुर्घटना : १७९ जनाको मृत्यु, २ जनाको मात्रै जिवितै उद्दार


दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एक विमान अवतरणका क्रममा दुर्घटनामा परेको छ । यो विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु र छ जना चालक दलका सदस्य रहेको बीबीसी समाचारमा उल्लेख छ।
दक्षिण कोरियाको दमकल विभागले यस दुर्घटनामा २ जनाको मात्रै जिवितै उद्दार गरिएको जनाएको छ ।

जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको जनाइएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।

विमानको पछाडिको भागबाट यात्रुलाई बचाउने कोशिस भइरहे पनि उनीहरुलाई बचाउन नसकिएको बताइएको छ। समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका थिए ।

दक्षिण कोरियाको दमकल विभागले जारी गरेको विज्ञप्तिमा एक यात्रु र एक जना चालक दलका सदस्यलाई बचाइएको बताइएको छ । ३२ दमकल र ८० कर्मचारी घटनास्थलमा पठाइएको विभागले जनाएको बीबीसी समाचारमा उल्लेख गरिएको छ ।

विमान दुर्घटनाको कारण खुलिसकेको छैन । तर विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।

विमान दुर्घटना दक्षिण कोरियाको जेओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो । यो विमानस्थल राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट