काठमाडौंमा मनाइयो टोपी दिवस
काठमाडौं, १७ पुस । जागरुक युवा अभियान नेपालले १२ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाएको छ । अभियन्ताहरुले ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित बुधबार काठमाडौंको वसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए । उनले १२ वर्षअघि कठिनताका साथ सुरुवात गरिएको कार्यक्रम अहिले देश विदेशभर फैलिएको भन्दै खुसी व्यक्त गरे । श्रेष्ठले नेपाली टोपी अभियान कुनै पनि अभियानको विरोधमा नरहेको भन्दै केही तत्वहरुले विवादित बनाउने कोसिस भइरहेको बताए । विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले कालोटोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न पनि संयोजक श्रेष्ठले सरकारसँग जोडदार माग गरे ।
कार्यक्रममा बालकदेखि बृद्धसम्म र युवायुवतीहरुको बाक्लो उपस्थिति थियो । जागरुक युवा अभियान नेपालले नेपाली टोपीको संरक्षण र प्रवर्द्धनका लागि भन्दै हरेक वर्ष जनवरी १ तारिखका दिन अन्तर्राष्टिय नेपाली टोपी दिवस मनाउँदै आएको छ ।
नेपाली शब्दकोषमा शिर छोप्ने, शिरको शोभा बढाउने वा शिरको रक्षाका निम्ति घेरा हाली सिलाइएको वस्त्रलाई टोपी वा शिरपोस भनिएको छ । ढाका र भादगाउँले टोपीको आगमन, प्रयोग र विस्तार जसरी भए पनि अहिले विश्व समुदायले झट्ट देख्ने बित्तिकै नेपालीलाई चिन्ने एउटा गर्विलो पहिरन टोपी हो ।
खास जात्रा पर्व र अवसरमा विभिन्न समुदायले विभिन्न आ–आफ्नो सामुदायिक टोपीहरु लगाउने गरे पनि सामान्यतः कामकाजदेखि वैदेशिक यात्राका बेला र विदेशी पर्यटक नेपाल आउँदा ढाका टोपी नै लगाइदिने प्रचलन बढेको छ । पछिल्लो समय युवापुस्तामा नेपाली टोपीप्रतिको क्रेज बढ्दो छ ।
क्याटेगोरी : जनमञ्च, पालिका, समाचार
प्रतिक्रिया