Techie IT
Samayabaddha
शनिबार, २० पुस, २०८१

सर्लाहीमा यात्रुबाहक बसले किच्दा सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु


सर्लाही, १७ पुस । सर्लाहीमा यात्रुबाहक बसले किच्दा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) विजयकुमार तुलाधरको मृत्यु भएको छ ।

मङ्गलबार राति आफ्नै कार्यालय सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) अगाडिको सडकमा बसेर फोनमा कुरा गरिरहेका ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक तुलाधारलाई छतौनाबाट बलराका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख २००४ नम्बरको लोकल बसले किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक तुलाधारलाई दुर्घटना लगत्तै उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार काठमाडौं महानगरपालिका–१५, स्वयम्भु घर भएका सशस्त्रका इन्स्पेक्टर तुलाधर सर्लाहीको कविलासी नगरपालिकास्थित अगर्बामा रहेको सशस्त्र प्रहरी बलको जिल्ला कार्यालय (गण) मा दबरन्दी भई बलरा नगरपालिका–९, स्थित बीओपी छतौनामा कार्यरत थिए ।

मृतक तुलाधरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । सशस्त्र प्रहरी निरीक्षक तुलाधरलाई किचेको बस घटनास्थलमै पल्टिए पनि बसका चालक र सह–चालक सकुशल रहेका र बसमा अन्य यात्रु नरहेका डीएसपी श्रेष्ठले बताए ।

बसका चालक, सह–चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि मङ्गलबार राति १० बजे सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालसहितको टोली घटनास्थलमा पुगेर अबेर फर्किएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट