इजरायलमा ३ हजार ४६१ केयरगिभर पठाउने प्रकृया सुरु, पहिलो चरणमा १ हजार जाने
काठमाडौं । वैदेशिक रोजगार विभागले द्वन्द्वग्रस्त इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) पठाउने प्रक्रिया सुरु गरेको छ । पहिलो चरणमा एक हजार जना पठाउने निर्णय अनुसार पुस १७ देखि २३ सम्म स्वास्थ्य परीक्षणको काम शुरु गरिएको छ ।
विभागका अनुसार अहिले पठाउन लागिएकाहरुमा ६ सय महिला र ४ सय पुरुष छन् ।
उनीहरूको छनौट इजरायल सरकारबाट आएका प्रतिनिधिहरुले गर्नेछन् । नेपाल सरकारका निकायहरुले छनौट गर्दा विवाद उत्पन्न हुने भएकोले विभागकै प्रस्तावमा इजरायलले आफै कामदार छनौट प्रकृया शुरु गरेको विभागका अधिकारीहरुले जानकारी दिएका छन् । इजरायली दूतावासले मेडिकल परीक्षणका लागि नेपाल मेडिसिटी अस्पताल,स्टार अस्पताल, हेम्स अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र क्रिस्टल डायग्नोस्टिक प्रालिलाई छनोट गरेको छ ।
स्मरणरहोस् इजरायलले गत असोजमा गोलाप्रथाबाट तीन हजार ४ सय ६१ श्रमिकको नाम छनोट गरेको थियो । तर, इजरायल र लेबनानी लडाकु समूह हिजबुल्लाहबीचको लडाइँ चर्केपछि कामदार पठाउने प्रक्रिया स्थगित भएको थियो । इजरायल र हिजबुल्लाहबीच युद्धविराम भएपछि कामदार लैजाने प्रकृया फेरि शुरु भएको हो ।
विभागको इजरायल शाखाका सम्पर्क अधिकृत धनञ्जय झाका अनुसार पहिलो चरणमा एक हजार जना पठाएपछि दोस्रो चरणमा बाँकी रहेका २ हजार ४६१ कमदारलाई लगिनेछ ।
केयरगिभरमा काम गर्ने नेपालीको मासिक तलब ५८ सय ८० इजरायली मुद्रा (करिब दुई लाख २० हजार रुपैयाँ) तोकिएको छ । करार अवधि सुरुमा एक वर्षको हुने र कामदारले चाहेमा अधिकतम ५ वर्षसम्म बढाउन सक्नेछन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया