पत्रकार महासंघ काठमाडौं शाखाको ३२ वर्षे यात्रा र नयाँ नेतृत्व
राजतन्त्र र पञ्चायती व्यवस्था पक्षधर मन्जुरत्न शाक्य नेतृत्वको नेपाल पत्रकार संघबाट छुटिएर २०४९ सालमा म सहितका ३०÷३५ जना प्रजातन्त्रवादी पत्रकारहरूको भेलाले वरिष्ठ पत्रकार किशोर नेपालको नेतृत्वमा सर्वसम्मत रूपमा १७ सदस्यीय नेपाल पत्रकार महासंघ काठमाडौं शाखा गठन गरेको ३२ वर्ष पुगिसकेछ। यस शाखाको १२ ओैं अध्यक्षमा गत मंसिर २८ गते शोभा अर्याल निर्वाचित हुनु भएको छ। उहाँले काठमाडौं शाखाको पहिलो महिला अध्यक्ष बन्ने ईतिहास रच्नु भएको छ। आज पुस १९ गते बबरमहलमा काठमाडौं शाखाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद हस्तान्तरण गरेको छ।
महासंघको काठमाडौं शाखाको ३२ वर्षको इतिहासमा पहिलो अध्यक्ष किशोर नेपाल,दोस्रो अध्यक्ष अशोक श्रेष्ठ, तेस्रो अध्यक्ष गोपाल बुढाथोकी, चौथो अध्यक्ष इश्वरी वाग्ले, पाँचौ अध्यक्ष हरि लम्साल, छैठौँ र सातौँ अध्यक्ष युवराज विद्रोही,आठौँ र नवौँ अध्यक्ष गोविन्द प्रसाद चौलागाई, दशौँ अध्यक्ष शन्तराम बिडारी, एधारौँ अध्यक्ष सुर्य सुवेदी र अहिले बाह्रौँ अध्यक्षका रूपमा शोभा अर्यालले नेतृत्व सम्हाल्नु भएको छ।
पहिलो र दोस्रो अध्यक्षको कार्यकालसम्म काठमाडौं शाखाको आफ्नो कार्यालय थिएन। अध्यक्षको पत्रिकाको कार्यालय र झोलामै कार्यालय थियो। पहिलो अध्यक्ष नेपाल, दोस्रो अध्यक्ष श्रेष्ठ र तेस्रो अध्यक्ष गोपाल बुढाथोकी सर्वसम्मत रूपमा निर्वाचित भएका थिए भने चौथो अध्यक्ष इश्वरी वाग्लेका पालादेखि प्रतिस्पर्धाद्वारा नेतृत्व चयन हुन थालेको हो। शाखाका तेस्रो अध्यक्ष बुढाथोकीले बागबजारको भक्तपुर बसपार्क छेउमा एउटा सानो कोठा भाडामा लिएर काठमाडौं शाखाको विधिवत कार्यालय सञ्चालन गरेका थिए। पछि चौथो अध्यक्ष इश्वरी वाग्लेले कृष्ण वाग्लेलाई कार्यालय सचिवको व्यवस्था गरि काठमाडौं शाखाको सचिवालयलाई व्यवस्थित रूपमा सञ्चालन गरेका थिए। पाँचौ अध्यक्ष हरि लम्सालको पालामा महासंघको कार्यालय बागबजारबाट बिजुलीबजार चारखालमा सारिएको थियो। त्यहाँबाट फेरि उहाँकै कार्यकालमा डिल्लीबजार पुरयाइयो। युवराज विद्रोही अध्यक्ष भएपछि महासंघको कार्यालय नक्साल सारी फेरि भृकुटीमण्डपमा सारिएको हो। त्यसपछि चौलागाई ,बिडारी र सुवेदीको कार्यकालसम्म कार्यालय भृकुटीमण्डपबाटै सञ्चालन भैरहेको छ।
लम्सालको कार्यकालसम्म पत्रकार महासंघ काठमाडौं शाखामा वास्तविक पत्रकारहरू नै सदस्य थिए। राजनीतिक दलका केन्द्रीय नेता शाखाको सदस्य भएपनि उनीहरूले व्यवसायिक रूपमा पत्रिका निकाल्थे। त्यसबेला मिशन पत्रकारिताको जगजगी थियो। महासंघका सदस्य र नेतृत्व दलमा आवद्व भएपनि पार्टीको हस्तक्षेप कम हुन्थ्यो। अहिलेको जस्तो प्रत्यक्ष, नाङ्गो र चरम राजनीतिक हस्तक्षेप महासंघमा थिएन। गैरपत्रकार र पत्रकारिता नगर्ने राजनीतिक दलका सदस्यहरूले समेत महासंघको सदस्यता पाएको र महासंघलाई राजनीतिक दलकै भातृ संस्था जस्तो बनाएको पत्रकारहरूले आरोप लगाउदै आएका छन। यसमा कति सत्यता छ ? उनीहरूले नै जानुन्।
महासंघको नयाँ नेतृत्वले अब शाखाको कार्यालय दैनिक खोल्ने, कार्यालय सचिवको व्यवस्था गर्ने, पत्रकारहरूको अभिलेखिकरण गर्ने, शाखाको त्रैमासिक बुलेटिन पत्रिका प्रकाशित गर्ने, पत्रकारहरूको दुर्घटना बीमा, उपचार बीमा गराउने, पत्रकारका हकहित र अधिकारका विषयमा केन्द्रित हुने, समानुपातिक विज्ञापन नीति ल्याउन दबाब दिने, लोककल्याणकारी विज्ञापनलाई वृद्वि गर्न दबाब दिने, नव युवा पत्रकारहरूलाई व्यवसायिक पत्रकार बनाउन, पुराना पत्रकारहरूको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न पहल गरोस, प्रेस काउन्सिलको वर्गीकरण प्रकृयालाई निष्पक्ष ,विश्वसनिय, वैज्ञानिक र पारदर्शी गराउन पहल गर्ने, काउन्सिलको अनुगमन र नियमन तथा कारवाहीलाई न्यायिक बनाउन भूमिका खेलोस्। साथै पत्रकारहरूको पेशागत सुरक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अझ बढी खवरदारी गरोस्। वास्तविक पत्रकारहरूको मात्र सदस्यता नविकरण र नयाँ सदस्यता दिने काम गरोस् । शाखाको जग्गा र भवन खरिदका लागि स्थानीय तह, प्रदेश र संघिय सरकारसँग सहयोग जुटाउन प्राथमिकताकासाथ लागोस्, नयाँ नेतृत्वलाई शुभकामना ।
क्याटेगोरी : जनमञ्च, बिचार, समाचार
प्रतिक्रिया