Techie IT
Samayabaddha
आईतबार, २१ पुस, २०८१

क्यालिफोर्नियाको एक व्यापारिक भवनमा विमान ठोक्किँदा दुई जनाको मृत्यु


लस एन्जलस (संयुक्त राज्य अमेरिका), १९ पुस । अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार बिहीबार लस एन्जलसबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको फुलर्टन म्युनिसिपल एयरपोर्ट नजिकै दुर्घटना भएको हो । यसको कारण भने खुल्न सकेको छैन ।

फुलर्टन प्रहरीले एक्समा भनेको छ, “दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।” यसका साथै १० जनालाई अस्पतालमा भर्ना गरिएको छ भने अन्य आठ जनाको घटनास्थलमै उपचार गरिएको छ ।

एक प्रहरी अधिकारीले स्थानीय स्टेशन केटीएलएलाई बताएअनुसार मृतकहरू विमानका यात्रु हुन् वा उनीहरू विमान दुर्घटना भएको भवनमा काम गर्ने कामदार थिए भन्नेबारे तत्काल पुष्टि गर्न नसकिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

टेलिभिजन फुटेजमा भवनको छतमा प्वाल परेको र धुवाँ निस्केको देखिएको छ ।

“एक ठुलो आवाजसहित जहाज भवनमा ठोक्किँदा हामी तर्सियौँ र त्यसपछि भवनबाट भाग्न थाल्यौं,” घटनास्थलका प्रत्यक्षदर्शी मध्येका एक जेरोम क्रुजले सीबीएस न्यूजलाई बताए

फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) का अनुसार उक्त विमान एकल इन्जिनमा निर्माण गरिएको आरभी–१० थियो, जुन चार सिट भएको सानो मोडेल थियो ।

गत नोभेम्बरमा फुलर्टन विमानस्थल नजिकै भएको अर्को दुर्घटनामा दुई जना घाइते भएका थिए । रासस/एएफपी


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट