Techie IT
Samayabaddha
आईतबार, २१ पुस, २०८१

यस वर्ष धान उत्पादन बढ्यो, ५९ लाख ५५ हजार मेट्रिक टन फल्यो


काठमाडौं । यस वर्ष पोहोरको तुलनामा धानको उत्पादन बढेको छ । आज सार्वजनिक भएको तथ्यांक अनुसार यस वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन भएको हो । यो पोहोरको तुलनामा ४ दशमलव ०४ प्रतिशतले धेरै हो । पोहोर ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान फलेको थियो ।

समयमै मनसुन भित्रिँदा रोपाइ गर्न सहज, बेलैमा मलखादको व्यवस्थापन, उन्नत जातको बीउलगायतका कारणले यस वर्ष धानको उत्पादन बढेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धान बालीको उत्पादन अनुमान गरेभन्दा बढी भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा। मतिना जोशी वैद्यले यस वर्ष धान बाली लगाएको क्षेत्रफलमा सामान्य कमी आउँदा पनि उत्पादकत्वमा वृद्धि भएको जानकारी दिए ।

बर्खे र चैते दुवै गरी १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको मन्त्रालयको अनुमान छ । यो गएको वर्षको तुलनामा १ दशमलव २८ प्रतिशत कम हो ।

त्यस्तै औसत उत्पादकत्व पनि बढेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले निकालेको विज्ञप्तिमा औसत उत्पादकत्व ४ दशमलव १९ मेट्रिक टन प्रतिहेक्टरमा पुगी अहिलेसम्मको उच्च विन्दु कायम हुन पुगेको उल्लेख छ । चैते र बर्खे दुवै धानको उत्पादकत्व र उत्पादन बढेको छ ।

तथ्यांक अनुसार यस वर्ष चार वटा प्रदेशमा धानको उत्पादन बढेको छ भने तीन वटा प्रदेशमा घटेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धानको उत्पादन बढेको हो । तर गण्डकी, बाग्मती र कर्णाली प्रदेशमा उत्पादन घटेको छ ।

रुकुम पश्चिममा धान बाली लगाइएको क्षेत्रफलमा कमी आएकाले कर्णालीमा धानको उत्पादन घटेको, नवलपरासी ९पूर्व० को केही भागमा बर्खे धानको बाला नलाग्ने समस्या देखिँदा उत्पादनमा केही कमी आएको र लमजुङमा धान बाली लगाएको क्षेत्रफल परिमाण परिमार्जन हुँदा गण्डकीमा उत्पादन कम भएको कृषि मन्त्रालयले जनाएको छ ।

बाग्मतीसहित देशका केही ठाउँमा असोजको १०, ११ र १२ गतेको अविरल वर्षाका कारण धानबालीमा क्षति पुगेको थियो । अविरल वर्षा, कतै कतै रोगकीराको समस्या भए पनि समग्रमा धानको उत्पादन बढेको र यो सुखद रहेको कृषि मन्त्रालयले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट