Techie IT
Samayabaddha
सोमबार, २२ पुस, २०८१

पर्यटन क्षेत्रमा देखिएको आशा र सावधानी


यतिबेला नेपालको पर्यटनले कोरोना महामारीअघिकै अवस्थाको लय समातेको छ । सन् २०२४ मा साढे ११ लाख पर्यटक नेपाल आएका छन् । पर्यटन बोर्डले पनि नेपालको पर्यटन सन् २०१९ को अवस्थामै फर्केको जनाएको छ । तर पनि आक्रामक रूपमा पर्यटकको संख्या अझै बढ्न सकेको छैन । नेपालले विदेशी पर्यटकलाई मात्र लक्षित गरेकोमा पछिल्लो दशक आन्तरिक पर्यटकतर्फ लक्षित पूर्वाधार निर्माण हुनुले पनि स्वदेशी तथा विदेशी पर्यटकको आवागमनमा बृद्धि भएको तथ्याङ्कले देखाउँछ ।

नेपालमा विशेषगरी हिमाल, तालतलैया, चराचुररुंगी, बन्यजन्तु, यहाँको कला, संस्कृति, भेषभूषा, आदिका बारेमा अध्ययन, अनुसन्धान तथा अवलोकन गर्नका लागि यूरोप, अमेरिका लगायतका तेस्रो मुलुकबाट पर्यटकहरु ठूलो संख्यामा आउने गरेका छन् । तर, हाम्रा दुई ठूला छिमेकी मुलुक चीन र भारतबाट उल्लेख्य रुपमा पर्यटक ल्याउन नसक्नु हाम्रो कमजोरी रहेको पर्यटन बोर्डको स्वीकारोक्ति छ । सरकारले सीमाबाट आउने पर्यटकलाई छाला हेरेर व्यवहार गर्दा नकारात्मक सन्देश जाने गरेको छ । पर्यटन क्षेत्रको सम्भावना प्रचुर भए पनि कतिपय नीति, कानून र हाम्रा व्यवहारबाट उल्लेख्य परिणाम आउन सकेको छैन । यसका लागि तीनवटै तहका सरकारले आपसमा समन्वय गरेर गम्भीरपूर्वक लाग्न जरुरी छ ।

कतिपय स्थानीय तहले पर्यटकका लागि चाहिने आधारभूत पूर्वाधार निर्माण नगर्दा पर्यकटहरुले हैरानी खेप्नु परिरहेको छ । सरसफाई, शौचालय, खानेपानी र बसोबासको प्रवन्ध, पर्यटकीय स्थल भ्रमणका लागि लिइने शुल्कमा मनपरी हुँदा स्वदेशी तथा विदेशी पर्यकटकहरु अप्ठेरोमा पर्ने गरेका समाचारहरु बेला बेलामा प्रकाशन तथा प्रसारण भइरहेका छन् । यसबारेमा सरकार सचेत हुन जरुरी छ ।

नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा लिइएको पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राखे पनि यसमा भए÷गरेका कामप्रति नागरिक सन्तुष्ट छैनन् । गाउँगाउँमा निर्माण गरिएका भ्यू टावर, चोक चोकमा खडा खरिएका बिभिन्न व्यक्ति तथा स्थानीय पहिचान एवम् उत्पादित फलफूल तथा तरकारीका शालिक एवम् स्तम्भले पर्यटकको मन लोभ्याए पनि तिनको मर्मत सम्भार नहुँदा त्यसले सुन्दरता भन्दा बढी कुरुपता प्रदर्शन गरिरहेका छन् । भ्यू टावर निर्माण गरेर वेवारिसे छोडिएका छन् । तिनको रेखदेख गर्ने व्यक्ति नखटाइँदा लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका संरचना कवाडी माल जस्तै बनेका छन् ।

नेपालका प्राकृतिक एवम् मान निर्मित संरचनाहरु, विश्वसम्पदा सूचीमा सूचीकृत स्थानहरुमा यत्रतत्र फोहोर फालिएका छन् भने दुव्र्यसनी गर्ने केही युवाहरुका अखडा बनिरहेका छन् । प्रदुषण एवम् जलवायु परिवर्तनका कारण सेता हिमालहरु पग्लिएर काला पहाडमा रुपान्तरण भएका छन् । यसले नेपालको पर्यटनको भविष्यलाई चाँडै समाप्त पार्ने संकत देखाइसकेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट